रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इण्डियन्सले मंगलबार आईपिएल अन्तरगत भएको पहिलो क्वालिफायरमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ।
मुम्बई चेन्नईलाई उसको घरेलु मैदानमा ६ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।
हिजोको खेलमा टस जितेर चेन्नईले पहिले ब्याटिङ् गर्ने निर्णय गरेको चेन्नईको ब्याटिङ लाइनअप सुरूदेखि नै धर्मरायो। उसले ४ विकेटको नोक्सानीमा १३१ रनमात्र जोड्न सक्यो। जवाफी ब्याटिङमा आएको मुम्बईले १३२ रनको लक्ष्य चार विकेटको नोक्सानीमा १८.३ ओभरमा पुरा गर्यो।
मुम्बई आइपिएलको फाइनलमा पुगेको यो पाँचौ पटक हो। यसअघि उसले तीन पटक उपाधिमा कब्जा जमाइसकेको छ। २०१३, २०१५ तथा २०१७ मा उपाधि जितेको मुम्बई २०१० मा चेन्नईसँग पराजित भएको थियो।
राहुल चाहर र सूर्यकुमार यादव मुम्बईको जितका नायक रहे।
लेग स्पिनर राहुलले चेन्नईलाई १३१ रनको सानो स्कोरमा रोक्न महत्वपूर्ण भूमिका निभाए। उनले चेन्नईको दुई विकेट लिएका थिए। हिजोको खेलमा यी १९ वर्षिय बलरले चार ओभरमा केवल १४ रन खर्च गरे। यसैगरी मुम्बईका लागि क्रुणाल पांड्या र जयंत यादवले १-१ विकेट लिए।
चेन्नईका लागि अंबाती रायडुले सर्वाधिक४२ रन जोडे भने कप्तान धोनीले ३७ तथा मुरली विजयले २६ रन जोडे। शेन वाटसनले मात्र १० रन जोडे।
चेननईसँग हरभजन सिंह, इमरान ताहिर तथा रवीन्द्र जडेजा जस्ता स्पिनर भएकाले मुम्बईका लागि १३२ रनको लक्ष्य सहज नहुने अनुमान गरिएको थियो तर सूर्यकुमार यादव र ईशान किशनले क्रमशः ७१ र २८ रनको पारी खेलेपछि मुम्बईले खेल जित्यो।
मुम्बईले हिजोको खेलमा २१ रन जोड्दा आफ्ना महत्वपूर्ण दुई ब्याट्सम्यानहरू रोहित शर्मा तथा क्विंटन डिककलाई गुमाएको थियो।
उनीहरूले केबल ४ र ८ रन मात्र जोडेका थिए। यस स्थितिलाई तेश्रो विकेटका लागि सूर्यकुमार र ईशानले ८० रनको साझेदारी गर्दै सम्हाले। ईशान टोलीको १०१ रनमा आउट भए।
उनीपछि क्रुणाल पांड्या पनि शून्यमा पेभेलियन फर्किए। यसपछि भने चेन्नईले कुनै विकेट लिन सकेन। त्यसपछि सूर्यकुमार र हार्दिक पांड्याले ३१ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए।