अस्ट्रेलियाका ब्याट्सम्यान म्याथ्यू हेडनले भारतीय विकेटकिपर व्याटसम्यान एवं चेन्नई सुपर किङ्सका कप्तान महेन्द्र सिंह धोनी एक क्रिकेट खेलाडी मात्र नभएर क्रिकेटको एउटा सिङ्गो युग भएको बताएका छन्।
धोनीको कप्तानीमा चेन्नई सुपरकिङ्ग्स ८ औं पटक आईपिएलको फाइनलमा पुग्यो। आईतबार भएको खेल उसले मुम्बई इण्डियन्ससँग १ रनले गुमायो। चौथोपटक उसको उपाधि जित्ने सपना यसपटक पूरा हुन सकेन।
'धोनी केवल खेलाडी मात्र होइनन्, क्रिकेटको एक युग हुन्। थुप्रै प्रकारले मलाई धोनी गली क्रिकेट टिमका कप्तान लाग्छन्। उनी हामीमध्येकै एक हुन जो टोलीका लागि सबै कुरा गर्छन्', हेडनले भने।
'तपाईले देख्नुभएकै छ धोनी कसरी अभ्यास गर्छन्। उनको आफ्ना लेग स्पिनरलाई बलिङ गराउने तरिका, क्याच समात्ने शैली, खेलाडीहरूसँग गर्ने सर-सल्लाह र साथमा शान्त रहिरहने उनको बानी। उनीजस्ता मान्छे जब तपाईको वरीपरी हुन्छन् तब तपाई आराम महशुस गर्नुहुन्छ', हेडनले धोनीलाई एउटा सिङ्गो युग मान्नुको कारण खुलाउँदै भने।
योसँगै हेडनले धोनी चेन्नईको मात्र नभइ पूरै भारतका कप्तान भएको बताए।