३० मे बाट सुरू हुने क्रिकेट विश्वकपको आधिकारिक गीत रिलिज भएको छ। अन्तराष्ट्रिय क्रिकेट परिषदले प्रतियोगिताको १४ दिन अगाडी आधिकारिक गीत रिलिज गरेको हो।
विश्वको ठूलो खेल प्रतियोगितामध्येको एक यस प्रतियोगितालाई १० लाख प्रशंसकले प्रत्यक्ष रंगशालामा हेर्नेछन् भने अरबौं दर्शकले टेलिभिजनमा प्रत्यक्ष हेर्नेछन्।
शुक्रबार प्रतियोगिताको 'स्ट्यान्ड बाई' बोलको गीत रिलिज गरिएको हो। यस गीतलाई नव गायक लोरिन तथा बेलायतको चर्चित 'रूडोमेन्टल'ले संयूक्तरूपमा तयार गरेको हो। रिलिज गीतलाई प्रशंसकहरूले मनपराइरहेका छन्।
३० मे मा हुने प्रतियोगितामा पहिलो खेल आयोजक इङ्ल्याण्ड र दक्षिण अफ्रिकाबीच खेलिनेछ। ४५ दिनसम्म चल्ने प्रतियोगितामा कुल ४८ खेल खेलिनेछ। प्रतियोगिताको सेमिफाइनल ९ र ११ जुलाईमा हुनेछ भने फाइनल १४ जुलाईमा लड्सको मैदानमा खेलिनेछ।