अफगानिस्तानका रसिद खान विश्वकपमा सबैभन्दा बढी रन खाने बलर बनेका छन्। विश्वका उत्कृष्ट लेग स्पिनर मध्येका एक रसिदले आइसिसी क्रिकेट विश्वकप अन्तर्गत मंगलबार इंग्ल्यान्ड विरुद्धको खेलमा ११० रन दिएका हुन्। उनले ९ ओभर बलिङ गर्दा ११ छक्का र ३ चौका दिए।
यसअघि यो रेकर्ड बर्मुडाका ड्वेन लेभेरकको नाममा थियो। उनले सन् २००७ मा वेस्ट इन्डिजमा भएको विश्वकपमा भारतविरुद्ध खेलमा १० ओभरमा ९६ रन खर्चिएका थिए।
योसँगै रसिद एकदिवसीय क्रिकेटमा बढी रन दिने खेलाडीको सूचीमा संयुक्तरुपमा दोस्रो स्थानमा पुगेका छन्। यसअघि पााकिस्तानका तीव्र गतिका बलर वाहव रियाजले इंग्ल्यान्डविरुद्ध सन् २०१६ मा १० ओभरमा ११० रन नै खर्चिएका थिए।
एकदिवसीय खेलमा सबैभन्दा महँगा बलर भने अस्ट्रेलियाका मिक लेविस हुन्। सन् २००६ मा जोहानेसवर्गमा दक्षिण अफ्रिकाले ४३५ रनको लक्ष्य पछ्याउने क्रममा उनले १० ओभरमा ११३ रन दिएका थिए।