जारी विश्वकप क्रिकेटमा अस्ट्रेलियाका ओपनर डेभिड वार्नर ५०० रन बनाउने पहिलो खेलाडी बनेका छन्।
यो रनले उनलाई जारी विश्वकपमा हालसम्म सर्वाधिक रन बनाउने खेलाडीसमेत बनाएको छ। यो विश्वकपमा उनले हालसम्म दुई शतक तथा ३ अर्धशतक बनाइसकेका छन्।
अब विश्वकपमा बाँकी खेलमा पनि उनको यो फर्म जारी रहे उनले भारतका सचिन तेन्तुलकरले बनाएको कीर्तिमान तोड्न सक्छन्। सचिनले एकै विश्वकपमा सर्वाधिक रन बनाउने कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।
सचिनले सन् २००३ को विश्वकपमा ६७३ रन बनाएका थिए। उनले सर्वाधिक रनकर्ताकारूपमा यस प्रतियोगितामा गोल्डेन ब्याट समेत जितेका थिए।
वार्नर यहि कीर्तिमानको नजिक पुगेका हुन्। अस्ट्रेलियाले हालसम्म ७ खेलिसकेको छ भने लिगका २ खेल खेल्न बाँकी छ। त्यस्तै टोली सेमिफाइनल पुगिसकेकाले उनले यो कीर्तिमान भंग नगर्लान भन्न सकिन्न। उनले अब कम्तिमा पनि ३ खेल खेल्नेछन्।
मंगलबार लड्समा भएको इङ्ल्याण्डविरूद्धको खेलमा वार्नरले ५३ रनको पारी खेले।
यहि खेलबाट उनले जारी विश्वकपमा ५०० रनको आँकडा पूरा गरेका हुन्। यस विश्वकपमा उनले सर्वाधिक १६६ रन बनाएका छन्।