न्युजिल्यान्डलाई आइसिसी विश्वकपको सेमिफाइनलमा स्थान पक्का गर्न एक जितको खाँचो छ। ठीक विपरित पाकिस्तानलाई एक हारले विश्वकपबाट बाहिर पठाउने छ।
बुधबार सजिलो अवस्थाको न्युजिल्यान्ड र कठीन परिस्थितिको पाकिस्तानबीच खेल हुँदैछ। बर्मिङघममा हुने खेलको नतिजाले दुवै टिमको भाग्यको फैसला गर्नेछ।
न्युजिल्यान्ड ६ खेलबाट ११ अंक जोडेर दोस्रो स्थानमा छ भने ६ खेलबाट ५ अंक जोडेको पाकिस्तान सातौं स्थानमा छ।
न्युजिल्यान्डलाई प्रतियोगिताकै सर्वाधिक सन्तुलित र एकै प्रकारको प्रदर्शन गर्ने टिमको रुपमा लिइएको छ। जारी विश्वकपमा अपराजित न्युजिल्यान्डलाई हराउन पाकिस्तानले अहिलेसम्मकै उत्कृष्ट खेल्नु पर्ने देखिन्छ।
सबै क्षेत्रमा राम्रो खेलिरहेको न्युजिल्यान्डका कप्तान केन विलियमसनको खेल उत्कृष्ट छ। अनुभवी रोश टेलरले उनलाई गतिलो साथ दिएका छन्। कोलिन डे ग्रान्डहोमले विपक्षी टिमप्रति हाबी भइरहेका छन्।
तीव्र गतिका बलर लोकी फर्ग्युसनले पनि जारी विश्वकपमा लयमा छन्। अर्का बलर ट्रेन्ट बोल्ट पनि न्युजिल्यान्डका भरपर्दा हतियार हुन्। माट हेनरी र जेम्स निसमले पनि चाहिएको बेला विकेट झारिरहेका छन्।
दक्षिण अफ्रिकाविरुद्धको अघिल्लो खेलमा पाकिस्तानले राम्रो खेल्यो। भारतविरुद्धको हारले तड्पिएको पाकिस्तानलाई जितले राहत दिलायो। सुस्त सुरुवात गरेपनि मध्यक्रमले पाकिस्तानको इनिङलाई गति दिएको थियो। बलिङमा मोहमद आमिरले निरन्तरले उत्कृष्ट प्रदर्शन गर्नु पाकिस्तानको बलियो पक्ष हो।
बुधबार खेलको अन्त्यतिर वर्षा सम्भावना छ। मेघगर्जन पनि हुने भएकाले बलिङमा स्विङ हुन सक्छ। जसको फाइदा पाकिस्तानका आमिर र न्युजिल्यान्डका बोल्ट लिन सक्छन्।