आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटअघि नेपालले मलेसियासँग २ खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ।
विश्वकप छनोटको तयारीका लागि नेपालले मलेसियासँग टी-२० सिरिज खेल्न लागेको हो।
पहिलो खेल असार २८ गते शनिबार हुनेछ। दोस्रो खेलमा असार २९ मा खेल्नेछ। दुवै खेल मलेसियाको किनरारा ओभलमा स्थानिय समयअनुसार १० बजे हुने मलेसियन क्रिकेट संघले जनाएको छ।
सिरिजपछि नेपाली टिम सिंगापुर प्रस्थान गर्ने कार्यक्रम छ।
त्यसअघि नेपाली टिमले टी-२० विश्वकप छनोटको अन्तिम तयारी मलेसियामै गर्ने छ।
नेपालले गत सातादेखि कीर्तिपुरस्थिति टियु मैदानमा हुने पहिलो चरणको तयारी गरिरहेको छ। पहिलो चरणको तयारी २५ जना खेलाडी सहभागी छन्। यी खेलाडीबाट वैदेशिक प्रशिक्षणमा जाने १४ सदस्यीय अन्तिम टिम शनिबार घोषणा हुँदैछ।
आगामी साउन ६ देखि १२ गते सम्म हुने छनोटमा नेपालसहित ५ टिमको सहभागिता हुनेछ। नेपाल, सिंगापुर, कुवेत, मलेसिया र कतारबीच प्रतिस्पर्धा हुने प्रतियोगिता राउन्ड रोबिनको आधारमा चल्नेछ। विजेता टिम ग्लोबल छनोटमा पुग्नेछ।
आगामी अक्टोबर ११ देखि ३ नोभेम्बरसम्म हुने आइसिसी टी–२० विश्वकप ग्लोवल छनोट प्रतियोगितामा १४ टिमको सहभागिता हुने छ। प्रतियोगितामा आयोजक युएईसँगै १० टिमको सहभागिता पक्का भइसकेको छ।
गत संस्करणको विश्वकप खेलेका स्कटल्यान्ड, जिम्बावे, नेदरल्यन्ड्स, हङकङ, ओमान र आयरल्यान्ड वरीयतामा शीर्ष १० मा पर्न नसकेपछि टी–२० विश्वकप छनोटमा धकेलिएका थिए।
पपुवा न्युगिनीले पूर्वी एसिया प्यासेफिक क्षेत्रीय छनोट पार गरेर छनोट प्रतियोगितामा स्थान पक्का गरिसकेको छ। अफ्रिकाबाट केन्या र नामिबिया विश्व छनोटमा पुगेका छन्। अब अमेरिकाबाट २ टिम छनोट हुँदैछन् भने एसिया र युरोप छनोटबाट १–१ टिमले स्थान पाउनेछन्।
६ टिम पुग्नेछन् टी–२० विश्वकपमा
१४ टिमबीच आगामी अक्टोबरमा युएईमा हुने छनोटबाट शीर्ष ६ टिमले सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन्। छनोट पार गरेर पुग्ने ६ टिम तथा बंगलादेश र श्रीलंकाबीच टी–२० विश्वकपको समूह चरणमा प्रतिस्पर्धा हुनेछ। समूह चरणबाट ४ टिम सुपर–१२ मा पुग्नेछन्।
सन् २०१८ को डिसेम्बरसम्म आइसिसीको टी–२० वरीयताको शीर्ष १० टिम टी–२० विश्वकपका लागि छनोट भइसकेका छन्। पाकिस्तानसहित भारत, इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, वेस्ट इन्डिज र अफगातिस्तान वरीयताको शीर्ष ८ मा पर्दै सुपर–१२ का लागि सिधै छनोट भइसकेका छन्।
नवौं वरीयताको पूर्व च्याम्पियन श्रीलंका र दशौं वरीयताको बंगलादेश टी–२० विश्वकपका लागि छनोट भए पनि दुवैले समूह चरणमा छनोट प्रतियोगिताबाट आएका ६ टिमसँग खेल्नु पर्नेछ।
नेपालको सम्भावना
नेपालले टी–२० विश्वकपका लागि एसियाको पहिलो चरणको छनोट पार गरिसकेको छ। ६ महिनाअघि मलेसियामा भएको छनोट प्रतियोगिता जित्दै नेपाल एसिया छनोटको दोस्रो चरणमा पुगेको थियो।
सिंगापुरमा हुने दोस्रो चरणको क्षेत्रीय छनोटमा नेपाल, कतार, कुबेत, सिंगापुर र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। जहाँ च्याम्पियन बने नेपालले अक्टोबर २०१९ मा युएईमा हुने टी–२० विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ।
टी–२० विश्वकप छनोटमा जिम्बावेसहित अघिल्लो विश्वकप खेलेका ८ टिमले खेल्ने पक्का भइसकेको छ। क्षेत्रीय छनोट पार गर्ने बाँकी ४ टिम गरी १४ बीच छनोट हुनेछ। छनोटमा शीर्ष ६ स्थानमा परे नेपालले टी–२० विश्वकप खेल्न पाउनेछ। नेपालले विश्वकप खेल्न सिंगापुरमा हुने प्रतियोगितामा च्याम्पियन र अक्टोबरमा हुने अन्तिम प्रतियोगितामा शीर्ष ६ स्थान हात पार्नु पर्नेछ।