आइसिसी क्रिकेट विश्वकप २०१९ विश्वकपअघि इंग्ल्यान्डलाई प्रतियोगिताको दाबेदार मानिएको थियो।
अपेक्षाअनुरुप आयोजक इंग्ल्यान्डले दमदार सुरुवात गरेको थियो। सुरुवाती ५ मध्ये ४ खेलमा जित हात पार्दै इंग्ल्यान्डले सेमिफाइनलतर्फ पाइला चालेको थियो।
तर पछिल्ला २ खेलमा लगातार पराजित भएपछि इंग्ल्यान्डको सेमिफाइनल यात्रा धरापमा परेको छ। इंग्ल्यान्ड छैटौं खेलमा श्रीलंका र सातौं खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो।
अब बाँकी रहेका २ खेलमा जित हात पारे मात्र इंग्ल्यान्ड सेमिफाइनल पुग्नेछ। बाँकी रहेका दुवै खेल उसका लागि कठीन छन्।
इंग्ल्यान्डले आइतबार बर्मिङ्घममा भारतसँग खेल्दैछ। भारत जारी विश्वकपमा एक्लो अपराजित टिम हो। भारतसँगको खेलपछि इंग्ल्यान्डले अन्तिम खेलमा न्युजिल्यान्डसँग खेल्नेछ।
जारी प्रतियोगितामा उत्कृष्ट खेलिरहेको भारतले सुरुवाती खेलमा आफ्नो क्षमता देखाइसकेको छ। दक्षिण अफ्रिका, अस्ट्रेलिया, पाकिस्तान, वेस्ट इन्डिज र अफगानिस्तानलाई हराएको भारत उच्च मनोबलमा छ। न्युजिल्यान्डविरुङ्को खेल भने वर्षाले अवरुद्ध भएको थियो।
सुरुवाती खेलमा बलिया टिमलाई हराउदा भारत सहज परिस्थितिमा छ। बाँकी रहेका ३ खेल मध्ये एकमा जित हात पारे भारत सेमिफाइनल पुग्ने छ। त्यसैले आइतबार घरेलु टिम भन्दा भारत कम दबाबमा हुनेछ।
भारतविरुद्धको खेलमा इंग्ल्यान्डका स्पिनर अदिल रसिद चल्न सक्छन्। ओपनर जास रोए टिममा फर्कदा पनि इंग्ल्यान्डलाई राहत हुनेछ।
भारतका लागि विराट कोहली महत्वपूर्ण खेलाडी हुन्। उनले पछिल्ला चार खेलमा अर्धशतक बनाएका छन्।
बर्मिङ्घमको पिच स्पिनरका लागि राम्रो मानिएको छ। पाकिस्तान र न्युजिल्यान्डबीचको पछिल्लो खेलको आधारमा यो मैदानमा २७० हराहारीको रन प्रतिस्पर्धात्मक मान्न सकिन्छ। आइतबार मौसम सफा रहने पूर्वानुमान गरिएको छ।