आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत आयोजक इंग्ल्यान्डलाई २० रनले हराएपछि श्रीलंकाको सेमिफाइनल सम्भावना बनेको थियो। तर पछिल्लो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएपछि श्रीलंकाको सेमिफाइनल यात्रा लगभग सकिएको थियो।
आइतबार भारतमाथि इंग्ल्यान्डले जित हात पारेसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरियो। यस्तो अवस्थामा श्रीलंकाले प्रतियोगिताबाट बाहिरिएको अर्को टिम वेस्ट इन्डिजसँग सोमबार रिभरसाइड मैदानमा खेल्दैछ।
प्रतियोगिताबाट बाहिरिएपछि दुवै टिमलाई दबाब कम छ। तर ब्याटिङमा एकरुपता ल्याउन नसकेको श्रीलंकालाई ब्याटिङमा सुधार गर्ने चुनौती छ।
जारी विश्वकपमा अपेक्षाकृत खेल्न नसकेको वेस्ट इन्डिजले पछिल्ला ७ खेलमा १ खेलमा मात्र जित हात पारेको छ। प्रभावशाली खेलाडी भए पनि वेस्ट इन्डिज अन्तिम अवस्थामा चुकिरहेको छ।
पहिलो खेलमा पाकिस्तानविरुद्ध ७ विकेट जित निकालेर वेस्ट इन्डिजले उत्कृष्ट सुरुवात गरेको थियो। त्यसपछि भने लगातार खराब खेल्दा वेस्ट इन्डिज अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ।