आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत आइतबार भएको खेलमा भारतलाई आयोजक इंग्ल्यान्डले ३१ रनले हरायो। हारसँगै जारी विश्वकपमा अपराजित यात्रामा पूर्णविराम लागेको भारतको विश्वकपका खेलमा पछिल्लो एक दशकमा तेस्रो हार हो।
जारी विश्वकपमा दोस्रो स्थानमा रहेको भारत सेमिफाइनल नजिक छ। भारतलाई बाँकी रहेका २ खेल मध्ये एक खेलमा जितको खाँचो छ। यस्तो अवस्थामा भारतले मंगलबार बंगलादेशसँग खेल्दैछ।
इंग्ल्यान्डविरुद्धको खेलमा भारतीय स्पिनर र मिडल अर्डर ब्याटिङमा केहि समस्या देखिएको थियो। तर समग्रमा भारतीय टिम सन्तुलिन र बलियो भएकोमा भने कुनै शंका छैन।
विकेट लिन नसकिएको अवस्थामा भारतका स्पिनरद्वय युजभेन्द्र चाहाल र कुलदिप यादवले संघर्ष गर्ने गरेका छन्। भारतका लागि भरोसा गर्न लायक बलर जसप्रित बुमराह मात्र हुन्। उनी मुस्किल परस्थितिमा पनि विपक्षीमाथि दबाब दिन सक्छन्।
भारतको मुख्य समस्या भनेको सुरुवाती ब्याट्सम्यान चल्न नसक्दा मध्यक्रमले जम्न नसक्नु हो।
बंगलादेशलाई अन्तिम चारमा स्थान पक्का गर्न बाँकी रहेका दुवै खेलमा जित निकाल्नु पर्ने अवस्था छ। पछिल्लो खेलमा न्युजिल्यान्डलाई पराजित गरेको बंगलादेश आत्मविश्वासी छ। बंगलादेशका ब्याट्सम्यानले उत्कृष्ट खेलिरहेका छन्।
ठूलो लक्ष्य पछ्याउने क्रममा बंगाली ब्याट्सम्यान सन्तुलित देखिएका छन्। भारतविरुद्धको खेलमा मिडल अर्डरका ब्याट्सम्यान मोहमुदुल्लाह टिममा फर्कने आसा गरिएको छ।
बंगलादेशका लागि अलराउन्डर सकिब अल हसन मुख्य हतियार हुन्। जारी प्रतियोगितामा अलराउन्ड प्रदर्शन गरिरेका उनले जित्नै पर्ने खेलमा आफ्नो लेफ्टआर्म स्पिन बलिङ र ब्याटिङमा योगदान दिन मिहिनेत गर्नेछन्।
भारतका लागि रोहित शर्मा महत्वपूर्ण खेलाडी हुन्। रोहित ओपनिङमा चलेको अवस्थामा भारतको ब्याटिङले गति लिने देखिन्छ।
बर्मिङघममा मंगलबार दिनभर घाम लाग्ने पूर्वानुमान छ।
भारत र बंगलादेश दुवैको सम्भावना
पछिल्लो खेलमा इंग्ल्यान्डसँग पराजित भएसँगै भारतमाथि दबाब छ।
भारतका लागि आज हुने बंगलादेशविरुद्ध हुने खेल महत्वपूर्ण छ। यो खेलमा बंगलादेश विजयी भए भारतमाथि थप दबाब बढ्नेछ। बंगलादेशसँग पराजित भएको अवस्थामा भारतका लागि श्रीलंकाविरुद्धको अन्तिम खेल गर या मर जस्तै हुनेछ।
श्रीलंकाको विश्वकपको यात्रा समूह चरणबाटै सकिसकेको छ। वेस्ट इन्डिजविरुद्ध हिजो भएको खेलमा श्रीलंकाले उत्कृष्ट ब्याटिङ गर्दै विश्वकप उच्च रन बनायो।
वेस्ट इन्डिजलाई पराजित गरेर आत्मविश्वास बटुलेको श्रीलंकामाथि कुनै दबाब छैन। अब अन्तिम खेलमा पनि जित हात पारेर श्रीलंकाले आफू मात्र होइन भारतलाई सेमिफाइनल पुग्न नदिने त होइन? समर्थकको चिन्ता छ।
यता बंगलादेशको पनि सेमिफाइनल सम्भावना छ। उसले आज भारत र अन्तिम खेलमा पाकिस्तानलाई हराएको अवस्थामा अन्तिम चारमा स्थान पक्का गर्नेछ।