आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत भारतले बंगलादेशलाई ३१५ रनको लक्ष्य दिएको छ। बर्मिङघममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेटको क्षतिमा ३१४ रन जोड्यो।
भारतका लागि ओपनिङ ब्याट्सम्यान रोहित शर्माले शतक प्रहार गरे। जारी विश्वकपमा चौथो शतक हिर्काउने क्रममा उनले १०४ रन जोडे। उनले ९२ बलमा ७ चौका र ५ छक्का हिर्काए।
उनका ओपनिङ पार्टनर केएल राहुलले ९२ बलमा ७७ रन जोडे। कप्तान विराट कोहली २६ रन र रिशव पन्त ४८ रनमा आउट भए। महेन्द्रसिंह धोनीले ३३ बलमा ४ चौका हिर्काउदा ३५ रन बटुले।
हार्दिक पाण्ड्या शून्य, दिनेश कार्तिक ८ रन, भुवनेश्वर कुमार २ रन र मोहमद सामी १ रनमा आउट भए।
बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ५ विकेट लिए। सौम्य सरकार, सकिब अल हसन र रुबेल हुसेनले १-१ विकेट लिए।
सेमिफाइनल जित्न बंगलादेशलाई खेल जित्नै पर्ने दबाब छ। भारतलाई भने बाँकी रहेका २ मध्ये १ खेलमा जित हात पारे पुग्छ।