भारतका मध्यक्रमका ब्याट्सम्यान अम्बाती रायुदुले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्। आइसिसी क्रिकेट विश्वकप २०१९ का लागि भारतीय टिममा नपरेको २ महिनापछि उनले संन्यासको घोषणा गरेका छन्। उनी टिममा नपरेपछि विवाद समेत भएको थियो।
रायुदुले बिसिसिआईलाई इमेल लेख्दै सबै फर्म र लेभलको क्रिकेटबाट सन्यास लिने निर्णय गरेको जनाएका छन्। उनले आइपिएल पनि नखेल्दे संकेत गर्दै मुम्बई इन्डियन्स र चेन्नइ सुपरकिंग्सलाई धन्यवाद दिएका छन्।
३३ वर्षिय रायुदुले गत नोभेम्बरमा पहिलो श्रेणीको क्रिकेटबाट सन्यास लिँदै एकदिवसीय र टी-२० खेलमा केन्द्रीत हुने बताएका थिए।
जारी विश्वकप उनले चौथो नम्बरमा ब्याटिङ गर्ने विश्वास गरिएको थियो। तर उनी भारतको १५ सदस्यीय टिममा पर्न सकेनन्। उनको स्थानमा विजय शंकरले मौका पाएका थिए। छनोटकर्ताले विजय शंकर ‘थ्री डाइमेन्सनल प्लेयर’ (थ्री डी) भएकाले टिममा राखेको बताएका थिए।
त्यसपछि रायुदुले ‘थ्री डी चस्मा’ लगाएर विश्वकप हेर्ने भन्दै ब्यंग्य गरेका थिए। विश्वकपका दौरान विजय शंकर घाइते भएर स्वदेश फर्कदा पनि उनले टिममा स्थान पाएनन्। विजयको स्थानमा भारतले मयंक अग्रवाललाई मौका दिएको थियो।
अहिले ओपनर शिखर धवनको स्थानमा खेलिरहेका रिशव पन्तले चौथो नम्बरमा ब्याटिङ गरिरहेका छन्।
सन् २०१३ मा जिम्बावेविरुद्धको खेलबाट एकदिवसीय खेलमा डेब्यू गरेका उनले ५५ एकदिवसीय खेल खेलेका थिए। त्यसक्रमा उनले ३ शतक र १० अर्धशतक प्रहार गरेका थिए।