आइसिसी क्रिकेट विश्वकप २०१९ अफगानिस्तानका लागि बिर्सनलायक प्रतियोगिता बनेको छ।
विश्वकपमा खेलिएका सबै खेलमा पराजित हुने क्रममा अफगानिस्तान बिहीबार भएको अन्तिम खेलमा वेस्ट इन्डिजसँग २३ रनले हार्यो। जससँगै अफगानिस्तान जारी विश्वकपमा सबै खेल हार्ने एक्लो टिम बन्यो।
गत वर्ष भएको विश्वकप छनोट प्रतियोगिताको फाइनलमा वेस्ट इन्डिजलाई हराएको अफगानिस्तान यसपटक भने फिक्का देखियो।
केहि खेलमा भने अफगानिस्तानले जबरजस्त खेल देखायो। छिमेकी पाकिस्तानविरुद्ध अन्तिम ओभरमा पराजित हुँदा अफगानिस्तान स्तब्ध बनेको थियो। भारतविरुद्ध पनि अफगानिस्तानले उत्कृष्ट खेलेको थियो। तर भारतसँग पनि अफगानिस्तान अन्तिममा चुक्यो। अन्य खेलमा भने अफगानिस्तानको प्रदर्शन खराब रह्यो।
विश्वकपअघि आयरल्यान्डविरुद्धको सिरिजमा सानदार खेल देखाएको अफगानिस्तानलाई विश्वकपमा आन्तरिक राजनीतिले असर गरेको देखिन्छ।
मैदान बाहिरको राजनीतिले मैदानभित्र असर गर्दा टिमको प्रदर्शन निरन्तर खस्कियो।
अफगानिस्तान टिममा अनुभवको पनि कमी भएको देखियो। अनुभवको कमी हुँदा उसले दबाब झेल्न सकेन जसले गर्दा पाकिस्तान र भारतसँगको खेलमा जित नजिक पुगेर पनि विपक्षीलाई नतिजा सुम्पनु पर्यो।
विश्वकप सुरु हुनअघि नै कप्तान परिवर्तन गर्दा टिमको एकता पनि असर गरेको थियो। तत्कालिन कप्तान अस्गर अफगानको स्थानमा गुल्बादिन नइबलाई नियुक्त गरेपछि अफगानिस्तानका प्रभावशाली खेलाडीद्वय मोहमद नाबी र रासिद खानले विरोध जनाएका थिए। उनीहरुले अफगानिस्तानका लागि राम्रो नेतृत्व गरिरहेका अफघानमाथि राजनीति भएको समेत आरोप लगाएका थिए।
विश्वकप सुरु भएपछि नइबले अफगानलाई आफ्नो कप्तान भन्दै विवादलाई मथ्थर पार्ने कोशिस गरे।
विश्वकपका दौरान अफगानिस्तानको टिममा अर्को विवाद देखियो। विकेटकिपर ब्याट्सम्यान मोहमद शाहजादले आफूलाई फिट हुँदा पनि स्वदेश फर्काइएको भन्दै विरोध जनाए। टिममा राजनीति हुँदा आफ्नो विश्वकप खेल्ने सपना चकनाचुर भएको भन्दै उनी पत्रकारसामु रोएका थिए। साथै अब अफगानिस्तान टिमबाट कहिल्यै नखेल्ने धम्की समेत दिएका थिए।
बिहीबार वेस्ट इन्डिजविरुद्ध भएको अन्तिम खेलमा अफगानिस्तान हाबी हुने विश्वास गरिएको थियो। किनकी अफगानिस्तनले वेस्ट इन्डिजविरुद्ध खेलिएका पछिल्ला चार मध्ये तीन खेलमा जित हात पारेको थियो।
तर वेस्ट इन्डिजले दिएको ३१२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ५० ओभरमा २८८ रनमा अलआउट भयो।
अफगानिस्तानका लागि विकेटकिपर ब्याट्सम्यान इकराम अलिखिलले ८६ रन जोडे। यस्तै रहमत शाहले ६२ रन जोड्दा अफगानिस्तानका आसा बढेको थियो। नाजिबुल्लाह जार्डान ३१ रन र अस्गर अफगान ४० रनमा आउट भएपछि अफगानिस्तानको विकेट पतन सुरु भएको थियो।
बलिङमा वेस्ट इन्डिजका कार्लोस बाथवेटले ४ विकेट र केमार रोचले ३ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ६ विकेटको क्षतिमा ३११ रन जोड्यो।
उसका लागि शाइ होपले ७७ रन जोडे। उनी खेलको म्यान अफ दि म्याच भए। इभिन लेभिसले ५८ रन जोड्दा निकोलास पुरनले पनि ५८ रन नै जोडे।
कप्तान जासन होल्डरले ३४ बलमा ४५ रन र शिमरन हेटमेयरले ३१ बलमा ३९ रन बटुले। कार्लोस बाथवेटेले ४ बलमा २ चौका र १ छक्कासहित नटआउट १४ रनको योगदान दिए।
बलिङमा अफगानिस्तानका दाउलात जार्डानले २ विकेट लिए।