मलेसियामा जारी एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा ओपनर रित गौतमको सतकमा नेपालले सिंगापुरलाई ३२७ रनको लक्ष्य दिएको छ।
मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ४ विकेटको क्षतिमा ३२६ रन जोड्यो।
नेपालका लगि रितले नटआउट १ सय १५ रन जोडे। रितले १३७ बलमा १० चौका र १ छक्का हिर्काए। ४८ ओभरमा सतक प्रहार गरेका रित जारी प्रतियोगितामा सतक हिर्काउने पहिलो खेलाडी बने।
उनका ओपनिङ पार्टनर पवन सर्राफ ४१ बलमा १० चौका प्रहार गरेर ४५ रनको योगदान दिए।
त्यसपछि ब्याटिङमा आएका खडकबाहदुर बोहराले ९० रनको उत्कृष्ट इनिङ खेले। उनले ९० बलमा १२ चौका हिर्काएका थिए।
खडक आउट भएपछि मैदान छिरेका विशालविक्रम केसी १ रन र कप्तान रोहितकुमार पौडेल ७ रनमै आउट भए।
रितलाई अन्तिमसम्म साथ दिएका कुशल मल्लले आक्रामक ब्याटिङ गरे।
उनले २३ बलमा नटआउट ५१ रन जोडे। २३ बलमै अर्धशतक बनाएका उनले ४ चौका र ५ छक्का हिर्काएका थिए। कुशलले अन्तिम ओभरमा ४ चौका र १ छक्का हिर्काएका थिए। यस्तै ४६ ओभरमा उनले लगातार ३ छक्का प्रहार गरेका थिए।
बलिङमा सिंगापुरका प्रनव सुदर्शन र विनित महेताले २-२ विकेट लिए।
नेपाल र सिंगापुर दुवै टिम यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन्। खेलमा विजयी हुने समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ।
सात राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित सिङ्गापुर र चीन छन्। नेपालले पहिलो खेलमा चीनमाथि १० विकेटको जित हात पारेको थियो। सिंगापुरसँग पनि हारेको चीन प्रतियोगिताबाट यसअघि नै बाहिरिएको थियो।
समूह ‘बी’ मा आयोजक मलेसियासँगै, भूटान, हङकङ र थाइल्याण्ड छन्। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलका लागि स्थान बनाउनेछन्। यस प्रतियोगिताबाट विजेता टोली श्रीलङ्कामा आयोजना हुने यू–१९ एशिया कपमा छनोट हुनेछ।