मलेसियामा जारी एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपाल समूह ‘ए’ को विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपालले शुक्रबार भएको समूहको अन्तिम खेलमा सिंगापुरलाई २१७ रनलेको फराकिलो अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो। अब नेपालले सेमिफाइनलमा आगामी सोमबार समूह ‘बी’ को उपविजेतासँग खेल्ने५।
ओपनर रित गौतमको सतकमा नेपालले ३२७ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर ३९.१ ओभरमा १०९ रनमै अलआउट भयो।
सिंगापुरको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका कुशल मल्लले ४ विकेट लिए। उनले ९.१ ओभरमा १ मेडन राख्दा १४ रन खर्चिए। तिलकराज भण्डारीले २ विकेट लिँदा रासिद खान र सागर ढकालको नाममा १-१ विकेट रह्यो।
भीम सार्कीले सिंगापुरका २ ब्याट्सम्यानलाई रनआउट गरे।
सिंगापुरका लागि हरि कुक्रेजाले सबैभन्दा बढी ३० रन जोडे।
त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ४ विकेटको क्षतिमा ३२६ रन जोड्यो।
नेपालका लगि रितले नटआउट १ सय १५ रन जोडे। रितले १३७ बलमा १० चौका र १ छक्का हिर्काए। ४८ ओभरमा सतक प्रहार गरेका रित जारी प्रतियोगितामा सतक हिर्काउने पहिलो खेलाडी बने।
उनका ओपनिङ पार्टनर पवन सर्राफ ४१ बलमा १० चौका प्रहार गरेर ४५ रनको योगदान दिए।
त्यसपछि ब्याटिङमा आएका खडकबाहदुर बोहराले ९० रनको उत्कृष्ट इनिङ खेले। उनले ९० बलमा १२ चौका हिर्काएका थिए।
खडक आउट भएपछि मैदान छिरेका विशालविक्रम केसी १ रन र कप्तान रोहितकुमार पौडेल ७ रनमै आउट भए।
रितलाई अन्तिमसम्म साथ दिएका कुशल मल्लले आक्रामक ब्याटिङ गरे।
उनले २३ बलमा नटआउट ५१ रन जोडे। २३ बलमै अर्धशतक बनाएका उनले ४ चौका र ५ छक्का हिर्काएका थिए। कुशलले अन्तिम ओभरमा ४ चौका र १ छक्का हिर्काएका थिए। यस्तै ४६ ओभरमा उनले लगातार ३ छक्का प्रहार गरेका थिए।
बलिङमा सिंगापुरका प्रनव सुदर्शन र विनित महेताले २-२ विकेट लिए।
सात राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित सिङ्गापुर र चीन छन्। नेपालले पहिलो खेलमा चीनमाथि १० विकेटको जित हात पारेको थियो। सिंगापुरसँग पनि हारेको चीन प्रतियोगिताबाट यसअघि नै बाहिरिएको थियो।
समूह ‘बी’ मा आयोजक मलेसियासँगै, भूटान, हङकङ र थाइल्याण्ड छन्। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलका लागि स्थान बनाउनेछन्। यस प्रतियोगिताबाट विजेता टोली श्रीलङ्कामा आयोजना हुने यू–१९ एशिया कपमा छनोट हुनेछ।