आइसिसी क्रिकेट विश्वकप २०१९ मा शुक्रबार बंगलादेशलाई ९४ रनले पराजित गरे पनि पाकिस्तानका लागि सेमिफाइनलमा पुग्न पर्याप्त भएन।
अंक तालिकाको चौथो स्थानमा रहेको न्युजिल्यान्डसँग समान अंक भए पनि पाकिस्तान रनरेटमा पछि पर्यो। पहिले ब्याटिङ गरेको पाकिस्तानले इमाम उलहकको सतकमा ३१५ रन जोड्यो।
बलिङमा बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ५ विकेट लिएका थिए। ३१६ रनको लक्ष्य पछ्याएको बंगलादेश २२१ रनमै अलआउट भयो। बंगलादेशका लागि सकिब अल हसनले ६४ रन बनाए। जससँगै उनले जारी विश्वकपमा ६ सय रन पूरा गरे।
उनी एकै विश्वकपमा ६ रन पूरा गर्ने तेस्रा खेलाडी बने।
बंगलादेशलाई सस्तैमा अलआउट गर्ने क्रममा पाकिस्तानका युवा खेलाडी साहीन शाह अफ्रिदीले ६ विकेट लिए। उनले ९.१ ओभरमा ३५ रन दिए।
यो आँकडासँगै उनले तीन वटा रेकर्ड बनाए। उनको यो प्रदर्शन विश्वकपमा पाकिस्तानका लागि उत्कृष्ट बलिङ हो। साथै उनी विश्वकपमा ५ विकेट लिने सबभन्दा कान्छा खेलाडी बने।
१९ वर्ष ९१ दिन उमेरका उनले प्रतियोगिताभर १६ विकेट लिएर विश्वकपमा बढी विकेट लिने टिनएरको रेकर्ड बनाए। साथै खेलपछि पाकिस्तानका अलराउन्डर सोएब मलिकले एकदिवसीय खेलबाट संन्यास लिए।
पहिलो रोजाइमा नपरेका उनलाई टिमका खेलाडीले गार्ड अफ अनर दिएका थिए।
३७ वर्षीय मलिकले पाकिस्तानका लागि २८७ एकदिवसीय खेल खेल्दै ७५३४ रन जोडेका थिए। यो पाकिस्तानका लागि पाँचौ बढी रन हो। उनले एकदिवसीय खेलमा ९ सतक र ४४ अर्धसतक प्रहार गरे।