युएस एम्बेसी युथ काउन्सिलले आइसिसी क्रिकेट विश्वकप २०१९ को अवसरमा नेपालका राष्ट्रिय खेलाडीसँग मैत्रीपूर्ण इन्डोर क्रिकेट खेलेको छ।
सोमबार रातोपुलमा भएको प्रतिस्पर्धामा नेपाल क्रिकेट टिमका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, महिला टिमकी करुणा भण्डारी, सरिता मगर, निरा राजोपाध्याय सहभागी थिए। यस्तै नेपाली क्रिकेट टिमका प्रशिक्षक उमेश पटवाल पनि कार्यक्रममा उपस्थित थिए।
युथ काउन्सिलले आइसिसी क्रिकेट विश्वकप २०१९ को अवसरमा 'युएस एम्बेसी युथ काउन्सिल क्रिकेट वर्ल्डकप सेलिब्रेसन' आयोजना गरिएको जनाएको छ।
कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी पनि उपस्थित थिए। बेरी तथा अमेरिकी दूतावासकी प्रवक्ता एन्डी डे अर्मेन्टलाई कार्यक्रममा सहभागी नेपाली क्रिकेटरले हस्ताक्षर गरिएको ब्याट प्रदान गरिएको थियो।
कार्यक्रममा नेपाली टिमका कप्तान पारसले नेपाल र अमेरिकाबीच क्रिकेटमा भएका प्रतिस्पर्धाको स्मरण गरेका थिए।
पारसले सन् २०१० मा नेपालले पहिलो उपाधिको रुपमा आइसिसी डिभिजन-५ जित्दा अमेरिकालाई पराजित गरेको राजदूत बेरीलाई जानकारी गराएका थिए। यस्तै पारसले निकट भविष्यमा अमेरिकाले क्रिकेट सिरिजका लागि नेपाल भ्रमण गर्न लागेको पनि बताए।
औपचारिक कार्यक्रमपछि कप्तान पारस र राजदूत बेरीले एकअर्काविरुद्ध क्रिकेट खेलेका थिए। सुरुमा पारसले बलिङ गर्दा बेरीले ब्याटिङ गरेको थिए।
यस्तै बेरीको बलिङमा पनि पारसले ब्याटिङ गरेका थिए। त्यसक्रममा पारसले बेरीलाई ब्याटिङका टिप्स समेत दिए।