इङ्ल्याण्डमा जारी विश्वकपमा आज भारत र न्युजिल्याण्डबीच पहिलो सेमिफाइनल खेल हुँदैछ। फाइनल यात्राका लागि एकअर्कालाई पन्छाउनु दुबैका लागि सहज हुनेछैन। विश्वकप इतिहासको सेमिफाइनलमा यी दुई देशबीच पहिलो जम्काभेट हो।
विश्वकप क्रिकेटमा पहिलो सेमिफाइनल जम्काभेट भए पनि विराट कोहली र विलियम्सनको भन्ने एकअर्कासँग दोश्रो जम्काभेट हो।
यी दुबै खेलाडीको भेट ११ वर्ष अगाडि अन्डर-१९ विश्वकपको सेमिफाइनलमा भएको थियो। यस समय विराट ३० वर्षका छन् भने त्यतिबेला १९ वर्षका थिए। यस्तै त्यतिबेला केन विलियम्सको उमेर १७ वर्ष थियो। २७ फरवरी, २००८ मा मलेसियामा भएको खेल भारतले जितेको थियो।
आजको खेलमा अर्को संयोग पनि जोडिएको छ। दुबै जना त्यतिबेला आआफ्नो टोलीका कप्तान थिए। आज पनि दुबैले आआफ्नो देशको कप्तानी गरिरहेका छन्।
सो खेलमा केनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए। त्यतिबेला न्युजिल्याण्डले कोरी एन्डरसनको ७० र विलियम्सनको व्यक्तिगत ३७ रनको सहयोगमा निर्धारित ५० ओभरको खेलमा २०५ रन बनाएको थियो।
सो खेलमा कोहलीले ४३ रनको पारी खेलेका थिए। यसका अलावा ७ ओभर बलिङ समेत गरेका विराटले त्यतिबेला २ विकेटसमेत लिए। उनी त्यस खेलको म्यान अफ द म्याच घोषित भएका थिए।
आज पहिलो पटक विश्वकप सेमिफाइनलमा एकअर्को आमुन्ने सामुन्ने हुन लागेका यी २ टोली सन् २०१५ को विश्वकपमा पनि सेमिफाइनलमा पुगेका थि तर त्यतिबेला दुबैको भेट हुनसकेन। भारत सो विश्वकपमा अस्ट्रेलियासँग पराजित हुँदै फाइनल पुग्न असफल भएको थियो भने न्युजिल्याण्ड फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो।
विश्वकपमा भारत र न्युजिल्याण्डबीच आजसम्म कुल ८ पटक भेट भएको छ।
यसमा ४ पटक न्युजिल्याण्डले भारतलाई पराजित गरेको छ बने ३ खेलमा भारत विजयी भएको छ। त्यस्तै १ खेल रद्ध भएको छ।