भारत र पाकिस्तानबीचको तीतो सम्बन्धको असर राजनैतीक तथा कुटनितिज्ञ स्तरमा मात्र नभइ खेलस्तरसम्म परेको छ। विशेष अन्तराष्ट्रिय प्रतियोगितामा बाहेक दुबै टोलीले एकअर्कासँग क्रिकेट नखेलेको धेरै भइसक्यो।
जारी विश्वकपमा पाकिस्तान लिग चरणबाटै घर फर्किसकेको छ भने भारतले सेमिफाइनलको यात्रा तय गरेको छ।
दुबै देशको तनाव खेलाडीहरूको भनाइमा पनि बेलाबेलामा देखिने गरेको छ। दुबै देशका खेलाडी मौका पर्दा एकअर्कालाई खिसी पछि गर्न पर्दैनन्।
यस्तो गर्नमा पूर्व पाकिस्तानी बलर शोएब अख्तर सबैभन्दा अगाडि छन।
उनी मौका मिल्दा भारतीय खेलाडीलाई उक्साउनेमा सँधै अगाडी हुने गर्छन्। शोएबको बानी यस्तो भए पनि उनले यस संस्करणको विश्वकप भारतले जितोस् भन्ने कामना गरेका छन्।
उनी क्रिकेटको विश्वकप ट्रफी भारतीय उपमहादीप आओस् भन्ने चाहन्छन्। उनले यस्तो चाहनु स्वभाविक छ। विश्वकपमा सहभागी १० टोलीमध्ये ५ टोली यसै उपमहादीपबाट थिए जसमा केबल भारतमात्र सेमिफाइनल पुग्न सफल रह्यो। त्यसैले उनले भारतको समर्थन गरेका हुन्।
'न्युजिल्याण्ड दबाब सहन सक्दैन। मलाई आशा छ, यसपटक उ अभागी साबित हुनेछैन। तर वास्तवमा भन्नुपर्दा म विश्वकप यो उपमहादीपमा आओस् चाहन्छु। यसका लागि म भारतको समर्थन गर्छु', आफ्नो यूट्यूब च्यानलको एक भिडियोमा शोएबले भनेका छन्।
सो भिडियोमा शोएबले सन् १९७५ यता न्युजिल्याण्ड ठूलो प्रतियोगितामा असफल हुँदै आएको उल्लेख गरेका छन्। उनले सो अवस्था हालसम्म पनि कायम रहेको बताए।
यसैगरी उनले भारतीय ब्याटसम्यान रोहित शर्माको पनि खुलेर तारिफ गरे।
'रोहितको समय संयोजन र शट छनौट बेजोड छ। खेलप्रतिको उनको समझदारी प्रशंसनिय छ। राहुलले पनि शतक बनाएका छन्। यो राम्रो कुरा हो', उनले भने।
उनले रोहित कहिले कतिबेला एकोहोरो र दोहोरो रन लिएर अगाडी बढ्ने कुरा एकदमै राम्रो गरी जानेको बताए।