बुधबार भारतले विश्वकप क्रिकेटको सेमिफाइनल खेलमा न्युजिल्याण्डसँग रोमाञ्चक हार बेहोर्यो।
न्युजिल्याण्डका बलरहरूले पहिलो १० ओभरमा भारतका सुरूवाती ४ ब्याटस्म्यानहरूलाई पेभेलियन फर्काइदिए।
यसक्रममा केएल राहुल, रोहित शर्मा र विराट कोहली त मात्र १-१ रनको स्कोरमा आउट भए। हारसँगै लड्सको मैदानमा कपिल देवपछि विश्वकप उचाल्ने विराट कोहलीको सपना सकियो।
भारतको यस हारले भारतीय प्रसंशकहरूको मन कुँडियो। कतिले दुःख मनाउ गरे भने कतिले आक्रोश पोखे टोलीप्रति।
यस्तोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने हारबाट आहत टोलीलाई सान्त्वना दिएका छन्। उनले ट्वीटबाट टोलीलाई सान्त्वना दिदैं विश्वकपमा उत्कृष्ट खेल खेलेको भन्दै प्रशंसासमेत गरे।
'जित-हार जीवनको हिस्सा हो, हामी भारतीय टोलीलाई उनीहरूको भविष्यको लागि शुभ-कामना दिन्छौं। म्याचको परिणाम निराशाजनक रह्यो तर भारतीय टोलीले न्युजिल्याण्डसँग अन्तिमसम्म खेल्नु शानदार थियो। भारतले प्रतियोगिता अवधिभर राम्रो ब्याटिङसँगै राम्रो बलिङ गर्यो। भारतीय टोलीमाथि हामीलाई गर्व छ', मोदीले ट्वीटमा लेखेका छन्।