आइसिसी क्रिकेट विश्वकप २०१९
दोस्रो सेमिफाइनल
इंग्ल्यान्ड भर्सेस अस्ट्रेलिया
स्थान- एजबास्टन, बर्मिङघम
समय- असार २६, बिहीबार दिउँसो ३:१५ बजे
विश्वकप सुरु हुनुअघि आयोजक इंग्ल्यान्ड र भारतलाई प्रतियोगिताको दाबेदार टिम मानिएको थियो। दुवैले प्रतियोगिताको सुरुवात अपेक्षाअनुरुप गरे। लिग चरणमा शीर्ष भएको भारत सेमिफाइनलबाट बाहिरिसकेको छ। भारतलाई बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले पराजित गरेको थियो।
इंग्ल्यान्ड भने सुरुवाती ५ खेलपछि धर्माराएको थियो। अन्तिम २ खेल जितेर नकआउट चरणमा पुगेको इंग्ल्यान्डले सेमिफाइनलमा पुरानो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग बिहीबार बर्मिङघममा खेल्दैछ।
लिग चरणको खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डमाथि सानदार जित निकालेको थियो। लर्ड्समा भएको खेलमा अस्ट्रेलिया ६४ रनले विजयी भएको दुवै टिमका खेलाडीको दिमाखमा ताजै छ। पाँच पटकको विजेता अस्ट्रेलियाले विश्वकपअघि खेलिएको वार्मअप खेलमा पनि इंग्ल्यान्डलाई १२ रनले पराजित गरेको थियो।
जारी प्रतियोगितामा इंग्ल्यान्डको कमजोर पक्ष भनेको एकै प्रकारको खेल्न नसक्नु हो। श्रीलंकाविरुद्धको खेलमा लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डलाई कठिन परेको थियो। २३३ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड २० रनले हारेको थियो। त्यसैले इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा ब्याटिङमा उत्कृष्ट खेल्नु पर्ने देखिन्छ।
अस्ट्रेलियालाई पहिले ब्याटिङ गर्दा सहज स्थितिमा हुने गर्छ। समूह चरणमा उसले हारेका दुवै खेल लक्ष्य पछ्याउदा थियो। अन्तिम खेलमा दक्षिण अफ्रिकाले दिएको ३२५ रन पछ्याएर ब्याटिङ गरेको अस्ट्रेलिया १० रनले पराजित भएको थियो।
बिहीबारको खेमला अस्ट्रेलियाका पिटर ह्यान्डसकमले खेल्ने सम्भावना छ। उनी घाइते भएका साउन मार्सको स्थानमा टिममा बोलाइएका थिए। उस्मान खावजाको स्थानमा म्याथ्यु वेडलाई बोलाइएको छ। यता प्रतियोगितामा चल्न नसकेका ग्लेन म्याक्सवेलको पनि उत्तम विकल्प खोज्ने अस्ट्रेलियाको योजना छ।
पछिल्ला खेलमा भारत र न्युजिल्यान्डलाई हराएको इंग्ल्यान्ड लयमा फर्किसकेको छ। तर अस्ट्रेलियाविरुद्धका पछिल्ला २ खेलमा बेहोरेको हारले भने इंग्ल्यान्ड मनोबैज्ञानिक दबाबमा पर्न सक्छ।
इंग्ल्यान्डका लागि ओपनिङ ब्याट्मस्यान जासन रोए महत्वपूर्ण खेलाडी हुन्। घाइते भएका कारण उनले समूह चरणमा अस्ट्रेलियाविरुद्धको खेल गुमाएका थिए। अब उनलाई बलियो प्रतिद्वन्द्वीविरुद्ध खेल देखाउने मौका आएको छ।
मध्यक्रमका ब्याट्सम्यान स्टिम स्मिथ अस्ट्रेलियाका भरोसा हुन्। उनले ठूला खेलमा अस्ट्रेलियाका लागि योगदान दिँदै आएका छन्। जारी प्रतियोगितामा खासै चल्न नसकेका उनले इंग्ल्यान्डविरुद्ध राम्रो खेल्ने अपेक्षा गरिएको छ।
बिहीबार बर्मिङघममा बादल लाग्ने र वर्षा हुन सक्ने पूर्वानुमान छ। पीच भने ब्याटिङका लागि उपयुक्त मानिएको छ।