आयोजक इङ्ल्याण्ड र न्युजिल्याण्ड जारी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेका छन्। आइतबार हुने फाइनलबाट यीमध्ये एकले पहिलो पटक विश्वकप उपाधि आफ्नो घर लैजानेछन्।
यसका अलावा यो खेलमा नयाँ कीर्तिमान बनाउने अवसर पनि छ। यस खेलमा विशेषगरी यी देशका दुई खेलाडीबाट भारतीय खेलाडी सचिन तेन्तुलकरको कीर्तिमान तोडिन सक्छ।
लड्समा हुने फाइनल खेलमा जोए रूटले १२५ रन बनाएमा उनले सचिनको एउटै विश्वकपमा बनाएको सर्वाधिक ६७३ रनको १६ वर्ष पुरानो कीर्तिमान भंग गर्नेछन्। यसैगरी केन विलियम्सनले १२६ रनको पारी खेलेमा उनले पनि सो कीर्तिमान आफ्नो नाममा पार्न सफल हुनेछन्।
यस विश्वकपमा हालसम्म केनले ५४८ रन बनाएका छन् भने रूटले ५४९ रन बनाएका छन्। उनीहरूलाई कीर्तिमान भंग गर्ने मौका त छ तर उनीहरूले तोड्छन् भने ठोकुवा गर्ने अवस्था छैन। रूट र केन फाइनल पुगेकाले उनीहरूले यस कीर्तिमानलाई भंग गर्लान भन्ने आशा गरिएको हो।
यसै विश्वकपमा केहि खेलाडी यसको निकट पुगेर पनि असफल भए।
यस विश्वकपमा ३ खेलाडीले आफ्नो रनस्कोरलाई ६ सय रनको पारी पुर्याए। यसको सबैभन्दा नजिक भारतका रोहित शर्मा पुगे, उनले ६४८ रन बनाए। यस्तै अस्ट्रेलियाका डेविड वार्नरले पनि ६४७ रन बनाए। उनीहरू दुबै विश्वकपबाट बाहिरिसकेका छन्।
रोहितले सेमिफाइनलमा यो रेक्रड तोड्ने अनुमान थियो तर न्युजिल्याण्डका बलरहरूले उनलाई मात्र १ रनको स्कोरमा पेभेलियन फर्काइदिएर नयाँ इतिहास रच्ने मौका दिएनन्। त्यस्तै अस्ट्रेलिया पनि सेमिफाइनलमा पराजित भएकाले वार्नर पनि यो मौकाबाट दुर भइसके। सेमिफाइनलमा उनको हालत पनि रोहितको जस्तै भयो। उनले केवल ९ रन जोडे। यस्तोमा सचिनको कीर्तिमान भंग गर्ने अवसर रूट र विलियम्सनसँग बाँकी छ।
सचिनले सन् २००३को विश्वकपमा ११ खेल खेलबाट ६१.१८ को औषतले ६७३ रन बनाउँदै रेकर्ड कायम गरेका थिए। सो समय उनले सर्वाधिक १५२ रन बनाएका थिए। सचिनले विश्वकपमा ६ शतक प्रहार गरेका छन् भने उनको नाममा सर्वाधिक अर्ध शतक हानेको कीर्तिमान समेत छ। उनले १५ अर्ध शतक प्रहार गरेका छन्। उनीपछि बंगलादेशका शाकिबले सर्वाधिक १० अर्ध शतक बनाएका छन्। उनले यस विश्वकपमा ६०६ रन बनाए।