निर्धारित ओभरमा दुबै टोलीको बराबरी स्कोर, त्यसपछि सुपर ओभर। सुपर ओभर पनि बराबरीमा अनि बाउण्ड्रीबाट विश्व विजेताको टुङ्गो। आइतबार इङ्ल्याण्ड यसरी क्रिकेट विश्वकपको नयाँ विश्वविजेता घोषित भयो।
यसरी उपाधि गुमाउन बाध्य भएपछि न्युजिल्याण्डप्रति सबैको सहानुभूति पोखिइरहेको छ। यस विजेता टोलीका विकेटकिपर जोस बटलर पनि रहेका छन्।
उनले न्युजिल्याण्डको टोली हारको हकदार नभएको प्रतिक्रिया दिएका छन्।
'कुनैपनि टोली हारको हकदार थिएन। रोमाञ्चक फाइनल खेलको श्रेय न्युजिल्याण्डलाई जान्छ। उनीहरू दुःखी होलान तर हारको हकदार थिएनन्। निश्चितरूपमा हारबाट निश्किन कठिन त हुन्छ नै', बटलरले भने।
आइतबार इङ्ल्याण्डले ४४ वर्षको प्रयासपछि पहिलो पटक विश्वकप उपाधि जितेको हो।
बटलरसँगै इङ्ल्याण्डका कप्तान इयोन मोर्गानले पनि उप-विजेता टोलीको प्रशंसा गरे।
'वास्तवाम उनीहरूका लागि यो प्रतियोगिता हाम्रो भन्दा पनि राम्रो रह्यो। फरक यति भयो की ट्रफी यहाँ(ईङ्याण्ड)मा रह्यो', मोर्गनले भने, ' समूहचरणमा न्युजिल्याण्डको प्रदर्शन धेरै राम्रो थियो। उनीहरूको प्रदर्शनमा निरन्तरता थियो। सेमिफाइनलमा पनि उनीहरूले भारतविरूद्ध गज्जबको खेल देखाए।'
यस्तै भनाइ खेलपछि न्युजिल्याण्डका कप्तानको पनि रह्यो।
'हो, स्वभाविकरूपमा म निराश छु। तपाईंहरूलाई थाहै होला, यो अवसर पाउनका लागि खेलाडीहरूले धेरै मेहेनत गरेका थिए। यहाँ आएर दोश्रो विश्वकपको फाइनल खेल्नु र एकदमै कम अन्तरमा उपाधि जित्न नसक्नु दुखद हो', उनले भने, 'मलाई लाग्छ, यो प्रतियोगिता अवधिभर मैले पहिले पनि पत्रकारहरूसँग केहि हाम्रो नियन्त्रणमा नरहेका कुराहरूको बारेमा कुरा गरेको छु। केहि यस्ता चिज भएका छन् जसलाई झेल्न एकदमै मुश्किल छ।'