आइतबार इङ्ल्याण्डलाई नयाँ विश्व विजेता बनाउँदै क्रिकेटको महाकुम्भ सकिएको छ।
यस विश्वकपमा विभिन्न अंकगणितका कीर्तिमानहरू बने र भंग भए। ती कति यस विश्वकपका थिए भने कति ४४ वर्ष लामो विश्वकप इतिहासका। यस विश्वकपमा भारतीय ब्याटसम्यान रोहित शर्मा सर्वाधिक रन बनाउने खेलाडी बने। मात्र २६ रनले सचिनले एकै विश्वकपमा बनाएको सर्वाधिक रनको कीर्तिमान भंग गर्नबाट उनी चुके।
यसक्रममा उनले गतिला शतक पनि प्रहार गरे। तर यस विश्वकपमा सर्वाधिक छिटो शतक भन्ने उनले हान्न सकेनन्।
यस विश्वकपमा सर्वाधिक छिटो शतक बनाउने खेलाडीको सूचिमा रोहित चौथो नम्बरमा छन्। यस विश्वकपमा सर्वाधिक छिटो शतक ईङ्ल्याण्डका कप्तान इयोन मोर्गानले बनाए।
उनले ओल्ड ट्राफोर्ट मैदानमा मात्र ५७ बलमा शतक बनाए। अफगानिस्तानविरूद्ध उनले बनाएको यो शतक विश्वकप इतिहासमा सर्वाधिक छिटो हानिएको चौथो शतक हो।
यसैगरी सूचिको दोश्रो नम्बरमा ईङ्ल्याण्डकै ब्याटसम्यान तथा विकेटकिपर जोस बटलर रहेका छन्। उनले पाकिस्तानविरूद्धको खेलमा ७५ बलको सामना गर्दै शतक बनाएका थिए। यो रेकर्डलाई पछि मोर्गनले तोडेका हुन्।
यस्तै ८० बलमा शतक प्रहार गरेर सूचिको तेश्रो नम्बरमा वेस्ट इण्डिजका कार्लोस ब्रैथवेट छन्। उनले न्युजिल्याण्डविरूद्धको खेलमा ८० बलमा शतक बनाएका हुन्। एकदिवसीय क्रिकेटमा यो उनको पहिलो शतक थियो।
यस सूचिमा भारतका रोहित चौथो नम्बरमा छन् भने पाँचौ नम्बरमा इङ्ल्याण्डकै जोनी बेयरस्टो छन्।
रोहितले पाकिस्तानविरूद्धको खेलमा ८५ बल खेल्दै आफ्नो शतक पूरा गरेका थिए। यस विश्वकपमा उनले सर्वाधिक ६४८ रन बनाए।
त्यसैगरी पाँचौ स्थानमा रहेका बेयरस्टोलाई शतक बनाउन ९० बल लाग्यो। उनले भारत विरूद्धको खेलमा शतक बनाएका हुन्।