पाकिस्तानका पूर्व क्रिकेटर अब्दुल रज्जाक आजकल फेरि चर्चामा छन्।
हालै विश्वकप क्रिकेट सकिएपछि उनले भारतीय अलराउण्डर हार्दिक पाँड्यालाई प्रशिक्षण दिन चाहेको बताएर चर्चामा आएका थिए। यसका लागि उनले भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)लाई ट्वीटरमा सन्देश नै पठाए।
सन्देशमा उनले हार्दिकलाई प्रशिक्षण दिने मौका दिइयोस् भनेका थिए। उनै रज्जाक फेरि अर्को कारणले चर्चामा आएका छन्। विवाहपछि केहि महिलासँग 'अफेयर' रहेको बताएपछि चर्चामा आएका हुन्।
५-६ अफेयरमा थिएँ
३९ वर्षिय रज्जाकले एक निजी टेलिभिजन च्यानलसँगको कुराकानीमा यसको खुलासा गरेका हुन्। उनले ५-६ वटा अफेयर रहेको बताए। ती अफेयरमध्ये एउटा अफेयर करिब डेढ वर्षसम्म चलेको उनको भनाइ थियो।
कार्यक्रम प्रस्तोताले ‘कसैलाई एकदमै मनपराइयो?’ भनेर सोधेको प्रश्नको उत्तर दिदैं उनले एकसाथ एकभन्दा पछि प्रेम भएको बताएका थिए।
त्यसक्रममा उनले त्यस्ता सम्बन्धको निश्चित आयु हुने र समय आएपछि सकिने बताए। उनले त्यस्तो सम्बन्धमा रहिरहँदा गज्जब लागेपनि त्यसको परिणाम भने राम्रो नआउने बताए।
सन् १९९९ बाट रज्जाकले आफ्नो अन्तराष्ट्रिय क्रिकेटको सुरूवात गरेका थिए। उनले सन् २०१३ मा पाकिस्तानका लागि अन्तिम अन्तराष्ट्रिय म्याच खेले। पाकिस्तानका लागि उनले ४६ टेसट, २६५ वान डे तथा ३२ टि-२० इन्टरनेश्नल खेल खेलेका छन्।
रज्जाक आफ्नो समयका उत्कृष्ट अलराउण्डर हुन्। उनले ४६ टेस्टमा ३ शतक सहित ७ अर्ध शतक लगाएका छन्।
उनले टेस्ट म्याचमा कुल १९ सय ४६ रन बनाएका छन्। ३६.९४ को औषतले उनले सय विकेट लिएका छन्।
यस्तै २६५ वान डे मा उनले ३ शतकको साथमा २३ अर्ध शतक प्रहार गरेका छन्।
त्यस्तै ३२ वटा टी-२० खेलेबाट उनले ३ सय ९३ रन जोडेका छन् भने २० विकेट लिएका छन्।