आइसिसी टी-२० विश्वकप विश्व छनोट प्रतियोगितामा स्थान बनाउन सिंगापुर, कुवेत, मलेसिया, नेपाल र कतारबीच सोमबारदेखि प्रतिस्पर्धा हुँदैछ।
सिंगापुरमा साउन १२ सम्म हुने टी-२० विश्वकप एसिया छनोटको च्याम्पियन टिमले युएईमा हुने विश्व छनोट प्रतियोगितामा स्थान बनाउनेछ।
टी–२० विश्वकप छनोटमा १४ टिमबीच विश्वकप छनोटमा प्रतिस्पर्धा हुनेछ। १४ टिम मध्ये शीर्ष ६ टिम आगामी वर्ष अस्ट्रेलियामा हुने आइसिसी टी-२० विश्वकपमा छानिनेछन्।
सिंगापुरमा राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धामा सबै टिमले एक-आपसमा भिड्नेछन्।
प्रतियोगिता सुरु हुनअघि नेपालका कप्तान पारस खड्काले अघिल्लो चरणमा पुग्ने लक्ष्य रहेको बताएका छन्।
‘जीवनमा हुने सफलता र असफल जस्तै क्रिकेट खेलमा पनि उकाली ओराली हुन्छन्,’ कप्तान पारसले आइतबार सिंगापुरमा आयोजित पत्राकार सम्मेलनमा भने, ‘नेपालको राम्रो पक्ष भनेको खेलाडी र समर्थकको क्रिकेटप्रतिको माया र लगाव बढी हुनु हो।’
कडा परिश्रम गरेको उल्लेख गर्दै पारसले अघि भने, ‘हामीले कठिन मिहिनेत गरेका छौं। खेलाडीहरु खेलप्रति दृढ छन् र क्रिकेट समर्थकको समर्थन उस्तै छ। यदि हामीले अघिल्लो चरणमा स्थान बनाएमा हाम्रा लागि सबथोक प्राप्त हुनेछ।’
सिंगापुरका कप्तान अमजाद मेहबुबले घरेलु मैदानको फाइदा उठाउने बताए।
‘क्रिकेट एउटा गजबको खेल हो। जसले कहिले हिम्मत नहार्न र अन्तिमसम्म लडिरहन सिकाउँछ,’ मेहबुबले भने, ‘सिक्न, खेल्न र विभिन्न स्थानबाट आएका आफ्नै शैलीमा क्रिकेट खेल्ने नयाँ साथी बनाउन यो सुनौलो मौका हो।’ उनले सिंगापुरलाई अघिल्लो चरणमा पुर्याउन सकेमा सबैको सपना पूरा हुने बताए।
मलेसियाका कप्तान अहमद फइज मोहमद नुरले क्रिकेट खेल्दा ब्याटिङ गर्दा आनन्द लाग्ने बताए।
‘बाउन्ड्री प्रहार गर्दा मलाई खुसी लाग्छ। जसले मेरो आत्मविश्वास बढाउछ भने आशावादी सोचलाई विकास गर्छ,’ उनले भने, ‘मलेसियामा क्रिकेट दिनप्रतिदिन लोकप्रिय र विकास भइरहेको छ। प्रत्येक मलेसियन क्रिकेटर क्रिकेटलाई मन पराउने मात्र होइन औधी माया गर्छन्। यहि कारणले हामी अघिल्लो चरण पुग्यौ क्रिकेट मलेसियासँग जोडिएका सबै खुसी हुनेछन्। अघिल्लो चरणमा पुगेको अवस्थामा अझ धेरै मलेसियनले क्रिकेट खेल्नेछन् र क्रिकेट बढी प्रतिस्पर्धात्मक हुनेछ।’
कुवेतका कप्तान मोहमद कसिफ शरीफले सन् १९९२ को विश्वकपदेखि क्रिकेट मन पराउन थालेको बताए। उनले उक्त विश्वकपमा पाकिस्तानले इंग्ल्यान्डलाई हराएको क्षणको सम्झना गरे।
‘विशेषगरी सन् १९९२ को विश्वकपपछि म र मेरो परिवारका लागि क्रिकेट एउटा शोख बन्यो,’ उनले भने, ‘विश्वकपपछि म लाहोरको स्थानीय क्लबमा भर्ना भएँ। मैले पाकिस्तानको दोस्रो श्रेणीसम्मको क्रिकेट खेले। पछि कुवेत आएर पूर्ण व्यवासायिक खेलाडी बने।’
कुवेतको घरेलु क्रिकेटको विकास द्रुत गतिमा भइरहेको बताउँदे उनले अघि भने, ‘हामीले यहाँसम्म आइपुग्न कडा परिश्रम गरेका छौं। हाम्रो बोर्ड र व्यवस्थापनको निकै ठूलो सहयोग छ। विश्व छनोटमा पुग्नु हाम्रा लागि सपना पूरा हुनु जस्तै हो।’
कतारका कप्तान तमूर सजिद जाफरले आफ्ना बुबाले सप्तान्तमा क्रिकेट खेलाएको कारणले आफू क्रिकेटर बनेको सुनाए। उनले कतारमा जनता एकजुट हुँदा खेलको विकास भइरहेको बताए।
‘क्रिकेटले विभिन्न संस्कृति र मूल्य भएकालाई एकजुट बनाएको छ। हामीलाई खेलले एकतामा बाँधेको छ,’ जाफरले भने, ‘विश्व छनोटमा पुगेर विश्वकपको बाटो बनाउनु हाम्रो सपना हो। त्यसका लागि हामी तयार छौं।’
नेपालको खेल
कतारविरूद्ध - साउन ७ गते
मलेसियाविरूद्ध – साउन ८ गते
कुवेतविरूद्ध – साउन ११ गते
सिंगापुरविरूद्ध – साउन १२ गते
(सबै खेल सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा नेपाली समयअनुसार विहान सवा ७ बजे सुरु हुनेछ।)
नेपाली टिम
पारस खड्का (कप्तान), अभिनास बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी
टी-२० विश्वकप छनोट : दाबेदार नेपाललाई वरीयताको दबाब
नेपालको टी-२० विश्वकप खेल्ने अभियानको अर्को खुड्किलो