अगस्ट ३ बाट भारत वेस्ट इण्डिज भ्रमणमा जाँदैछ। त्यसअघि टोली अमेरिका पुग्नेछ। त्यहाँ उसले इण्डिज विरूद्ध २ टि-२० खेल खेल्नेछ।
सो खेल खेल्न जान लागेका भारतीय बलर मोहम्मद शमीलाई अमेरिकाले भिषा नदिएको खुलासा भारतीय क्रिकेट कन्ट्रोल बोर्डले गरेको छ।
अमेरिका दुतावासले अधुरो पुलिस प्रमाणीकरणका कारण शमीलाई भिषा दिन अस्वीकार गरेको हो।
यस्तो हुनुको पछाडि शमीविरूद्ध चलिरहेको घरेलु हिंसा र व्याभिचारको मुद्धा हो।
गत वर्ष शमीकी पत्नीले कोलकाता पुलिसमा उनीविरूद्ध उजुरी दिएकी थिइन्। यसै कारणले उनलाई अमेरिकाले भिषा नदिएको हो। भिषा अस्वीकार गरिएपछि बिसिसिआईका सिईओ राहुल जौहरीले अमेरिकी दुतावासलाई चिठ्टी लेख्दै भिषा दिन आग्रह गरेका थिए। सो पत्रपछिमात्र उनलाई अमेरिकाको भिषा मिलेको थियो।
भारतले फ्लोरिडामा इण्डिजविरूद्ध ३ र ४ अगस्टमा टि-२० क्रिकेट खेल्ने कार्यक्रम रहेको छ। यसैगरी भारतले तेश्रो तथा अन्तिम टि-२० सिरिज अगस्ट ६ मा गुयानामा खेल्नेछ। यसका अलावा भारतले इण्डिजसँग ३ वान डे तथा २ टेस्ट खेल्नेछ।
अब भिषा पाएका शमी २९ जुलाईमा अमेरिका जानेछन्।