आइसिसी टी-२० विश्वकप एसिया छनोट प्रतियोगिताको उपाधि जित्न सिंगापुरले नेपाललाई १९२ रनको विशाल लक्ष्य दिएको छ।
सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर उत्कृष्ट लयमा देखियो। सिंगापुरले २० ओभरमा ६ विकेटको क्षतिमा १९१ रन जोडेको हो।
सिंगापुरका लागि टिम डेभिडले सबैभन्दा बढी ७७ रन जोडे। उनले ४३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे।
त्यसअघि आक्रामक ब्याटिङ गरेका ओपनर रोहन रंगराजन ४९ रनमा आउट भएका थिए। अभिनास बोहराको बलमा आउट हुनुअघि उनले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। उनका ओपनिङ पार्टनर चन्द्रमोहन भने ७ रनमा आउट भए।
मनप्रित सिंहले ४२ रनको योगदान दिदा सिंगापुरको इनिङले गति लियो। उनले २७ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
बलिङमा नेपालका अभिनास बोहराले ४ विकेट लिए। उनले ४ ओभरमा ३५ रन खर्चिए।
करण केसीले २ विकेट हात पारे। उनले ३ ओभरमा २९ रन खर्चिए।
४ ओभर बलिङ गरेका बसन्त रेग्मी महँगा साबित भए। विकेट लिन नसकेका बसन्तले ५४ रन दिए। जसमा बसन्तले ५ चौका र ३ छक्का बेहोरे। सन्दीप लामिछानेले ३ ओभरमा ३४ रन दिँदा विकेट लिन सकेनन्।
खेल जित्ने टिम च्याम्पियन बनेर आइसिसी टी-२० विश्व छनोट प्रतियोगितामा पुग्नेछ।