श्रीलंकाले ४४ महिनापछि घरेलु मैदानमा एकदिवसीय सिरिज जितेको छ।
बंगलादेशविरुद्धको तीन खेलको एकदिवसीय सिरिज एक खेलअघि नै जित्दै श्रीलंकाले ३ वर्ष ८ महिनापछि घरेलु मैदानमा सिरिज जितको खुसी मनाएको हो।
पछिल्लो पटक श्रीलंकाले घरेलु मैदानमा सन् २०१५ को नोभेम्बर एकदिवसीय सिरिज जितेको थियो। श्रीलंकाले त्यतिबेला वेस्ट इन्डिजलाई ३–० ले हराएर सिरिज जितेको थियो।
त्यतिबेला श्रीलंकाको कप्तान एन्जेलो म्याथ्युज थिए। टिममा तिलकरत्न दिलशान पनि थिए।
४४ महिनापछि सिरिज जित्ने क्रममा श्रीलंकाले आइतबार राति सकिएको दोस्रो खेलमा ७ विकेटको जित निकाल्यो।
पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिमा २२८ रन जोड्यो।
जवाफी ब्याटिङ गरेको श्रीलंकाले ४४.४ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पार गर्यो।
श्रीलंकाका लागि अभिस्का फर्नान्डोले ८२ रन जोडे भने एन्जेलो म्याथ्युजले नटआउट ५२ रन जोडे।
यसअघि श्रीलंकाले पहिलो खेलमा ९१ रनको जित हात पारेको थियो। सो खेल तीव्र गतिका बलर लासिथ मालिङ्गाका अन्तिम अन्तर्राष्ट्रिय खेल थियो।