सिजन २०२० आइपिएल क्रिकेटका लागि दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सका लेगस्पिनर मायंक मार्कण्डेलाई भित्र्याएको छ।
वेस्ट इन्डिजका अलराउन्डर शेर्फेन रदरफोर्डसँग मुम्बईले मार्कण्डेलाई साटफेर गरेको हो।
१९ वर्षीय लेगस्पिनर राहुल चाहरले मुम्बईका लागि गत सिजनमा राम्रो खेलेकाले मार्कण्डेले मौका पाएका थिएनन्।
२१ वर्षीय मार्कण्डे दिल्ली गएसँगै तीन वर्षे सम्झौताको अन्तिम सिजनमा रहेका नेपालका युवा लेगस्पिनर सन्दीप लामिछानेलाई पहिलो रोजाइमा पर्न झन् गाह्रो हुनेछ।
मार्कण्डले २०१८ को सिजनमा मुम्बईका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। गत सिजन भने उनले ३ म्याच मात्र खेलेका थिए।
दुई वर्षअघिको सिजनमा उत्कृष्ट खेलेका मार्कण्डे भारतीय भएकाले उसैपनि गत सिजनमा आधा भन्दा बढी खेल्न नपाएका सन्दीपले टिममा पर्न थप प्रतिस्पर्धा गर्नु पर्नेछ।
सन्दीपले गत सिजन दिल्लीबाट ६ खेल खेल्दै ८ विकेट लिएका थिए।
अब दिल्लीमा नेपालका सन्दीपसँगै मार्कण्डे, अमित मिश्रा र राहुल टेवाटिया गरी चार जना लेगस्पिनर भएका छन्।