ग्लोबल टी-२० क्यानडा क्रिकेट प्रतियोगिताको इलिमिनेटरको खेलमा टोरन्टो नेसनल्स र विनिङपेग हग्सबीच प्रतिस्पर्धा हुने भएको छ।
टोरन्टोमा नेपाली राष्ट्रिय टिमका युवा लेगस्पनिर सन्दीप लामिछाने र विनिङपेगमा नेपालका तीव्र गतिका बलर सोमपाल कामी आबद्ध छन्।
यसअघि समूह चरणमा पनि दुई टिम भिडन्त भएको थियो। सो खेलमा विनिङपेगले टोरन्टोलाई ३ विकेटले पराजित गरेको थियो।
यद्यपी खेलमा सन्दीप र सोमपाल दुवै जना आफ्नो टिमको पहिलो रोजाइमा पर्न असफल भएका थिए।
दोस्रो पटक विनिङपेगसँगको भिडन्त पक्का गर्ने क्रममा टोरन्टोले बुधबार राति भएको खेलमा मोन्टेरियल टाइगर्सलाई ३५ रनले पराजित गर्यो।
खेलमा नेपाली बलर सन्दीपले लगातार तेस्रो खेलमा विकेट लिने क्रममा टाइगर्सका स्कट कुज्जेलेइजलाई आउट गरे। सो खेलमा सन्दीपले ३ ओभरमा २५ रन दिए।
यसअघि सोमपालको विनिङपेग र भ्याकुभर नाइट्सबीचको खेल वर्षका कारण रद्द भएको थियो।
अब इलिमिनेटको खेलमा टोरन्टो र विनिङपेगबीच बिहीबार राति खेल हुनेछ। खेलमा सोमपाल र सन्दीप पहिलो रोजाइमा परे एकअर्काबीच प्रतिस्पर्धा गर्नेछन्।