ग्लोबल टी-२० क्यानडामा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टोरन्टो नेसनल्सलाई अर्का नेपाली बलर सोमपाल कामी आबद्ध विनिङपेग हग्सले पराजित गरेको छ।
बिहीबार राति भएको इलिमिनेटरको खेलमा टोरन्टोमाथि विनिङपेगले डिएल मेथडमा २ रनको रोमाञ्चक जित हात पारेको हो।
खेलमा सन्दीपले विनिङपेगका २ विकेट लिए पनि त्यो टोरन्टोलाई जितका लागि पर्याप्त हुन सकेन। सोमपाल कामीलाई भने विनिङपेगले आफ्नो पहिलो रोजाइको टिममा राखेन।
खेलमा पहिले ब्याटिङ गरेको टोरन्टोले ५ विकेटको क्षतिमा २३८ रन जोडेको थियो। टोरन्टोका लागि हेनरिक क्लासेनले नटआउट १०६ रन जोडेका थिए। उनले ४९ बलमा ११ चौका र ५ चौका हिर्काए। यस्तै रोद्रिगो थोमसले पनि ७३ रनको योगदान दिए।
२३९ रनको विशाल लक्ष्य पछ्याएको विनिङपेगले १७.१ ओभरमा ५ विकेटको क्षतिमा २०१ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो। त्यतिबेला विनिङपेगका जेपी डुमिनीले ८५ रन जोडेर खेलिरहेका थिए। उनले ४१ बलमा ८ चौका र ५ छक्का हिर्काएका थिए। यस्तै कप्तान रायद इमरित पनि १५ बलमा ३३ रन बनाएर खेलिरहेका थिए।
त्यसपछि खेल हुन नसक्दा विनिङपेग २ रनले विजयी भयो। किनकी यहि स्थितिमा टोरन्टो १९९ रनको स्थितिमा रहेको थियो।
खेलमा सन्दीपले उमर अकमललाई १ रन र सनी सोहललाई ३६ रनमा आउट गरे। सन्दीपले जारी प्रतियोगितामा लगातार चार खेलमा विकेट लिए। उनले चार खेलमा ५ विकेट लिएका छन्। चार खेल खेलेसँगै सन्दीपको यो सिजनको क्यानडाको यात्रा पनि सकिएको छ।
हारसँगै टोरन्टो बाहिरिएको छ भने विनिङपेग दोस्रो क्वालिफायरमा पुगेको छ। दोस्रो क्वालिफायरमा शनिबार ब्राम्टन वुल्भ्स र विनिङपेगबीच प्रतिस्पर्धा हुनेछ। विजेता हुने टिमले उपाधिका लागि आइतबार भ्यान्कुभर नाइट्ससँग खेल्नेछ।