नेपाल क्रिकेट संघ प्रदेश १ को अध्यक्षमा मिङ्ग्मा डण्डु शेर्पा निर्वाचित भएका छन्।
शनिबार विराटनगरमा भएको निर्वाचनबाट शेर्पाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चुनिएको छ।
अध्यक्षमा विप्लव घोषले पनि उम्मेदवारी दिएका थिए। तर उनले अन्तिम समयमा उम्मेवारी फिर्ता लिएपछि शेर्पा निर्विरोध चुनिएका हुन्।
उपाध्यक्षमा नवीन घिमिरे र सचिवमा मनोज कटवाल निर्वाचित भएका छन्। यस्तै विरु श्रेष्ठ कोषाध्यक्ष चयन भएका छन् भने ९ जना सदस्यमा चुनिएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट २०७३ मा निलम्बन परेपछि गठन गरिएको स्वतन्त्र समितिले अहिले जिल्ला र प्रदेश निर्वाचन गरिरहेको छ।
यसअघि सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशको निर्वाचन भइसकेको छ। अब प्रदेश २, ३ र ५ प्रदेशको निर्वाचन हुन बाँकी छ।
प्रदेश २ मा पर्सामा सदस्यता विवादका कारण निर्वाचन हुन सकेको छैन। प्रदेश ३ मा काठमाडौंको निर्वाचन भएको छैन भने प्रदेश ५ मा बाँकेले प्रतिनिधि पठाएको छैन।
दुवै जिल्लामा सदस्यता विवादको मुद्दा अदलातमा विचाराधिन छन्।
बाँकी तीन प्रदेशमा निर्वाचन भएपछि केन्द्रको निर्वाचन हुनेछ। त्यसपछि आइसिसीले निलम्बन फुकुवा गर्ने विश्वास गरिएको छ।