बुधबार भारतले वेस्ट इण्डिजलाई हराउँदै वान डे सिरिजमा २-० ले कब्जा जमायो। सिरिजमा भारतीय कप्तान विराट कोहलीले दुई खेलमा लगातार दुई शतक प्रहार गरे।
अन्तिम तथा तेश्रो खेलमा कोहलीले ९० बलको सामना गर्दै अविजित ११४ रन बनाए। उनलाई 'म्यान अफ द सिरिज' समेत घोषित गरियो।
इण्डिजमा उनले आफ्नो ४३ औं शतक पूरा गरे। यो शतकसँगै उनले एउटा अनौठो रेकर्ड आफ्नो नाममा बनाएका छन् जसका लागि आइसिसीले ट्वीटमा बधाई समेत दिएको छ। उनी यो सिरिजबाट एक दशकमा २० हजार रन बनाउने पहिलो खेलाडी बने।
टेस्ट,वान डे तथा टि-२० गरेर उनले सन् २०१० देखि २०१९ सम्ममा २० हजार रन पूरा गर्दै रेकर्ड बनाएका हुन्।
उनले यस दशकमा ३७१ खेलबाट ५७.०३ को औषतले २० हजार १८ रन बनाएका छन्। यसमा ६७ शतक सामेल छ।
विराट अगाडी एक दशकमा सर्वाधिक रन बनाएको कीर्तिमान अस्ट्रेलियाका रिक्की पोन्टिङको नाममा थियो। उनले २००० को दशकमा १८ हजार ९६२ रन बनाएका थिए।
अब उनी सूचिको दोश्रो स्थानमा झरेका छन्। यस सूचिमा ज्याक कलिस १६,७७७ रन सहित तेश्रो स्थानमा रहेका छन भने महेला जयवर्दने १६,३०४ रन सहित चौथो नम्बरमा रहेका छन्।
यस्तै १५ हजार ९९९ रनसहित कुमार संगकारा पाँचौं स्थानमा छन् भने सचिन तेन्दुलकर १५ हजार ९ सय ६२ रनसहित छैठौं स्थानमा छन्।