इङ्ल्याण्ड र अस्ट्रेलियाबीच भएको एशेज सिरिजको दोश्रो टेस्ट आइतबार बराबरीमा सकिएको छ।
इङ्ल्याण्डले पाँचौ तथा अन्तिम दिन आइतबार बेन स्टोक्सको अविजित ११५ रनको सहयोगमा पाँच विकेटको क्षतिमा २५८ रनमा आफ्नो दोश्रो पारीको घोषणा गरेको थियो र अस्ट्रेलियालाई जितका लागि २६७ रनको लक्ष्य दिएको थियो।
त्यसपछि लक्ष्य पछ्याउने आएको अस्ट्रेलियाले ४७.३ ओभरमा ६ विकेटको नोक्सानीमा १५४ रन बनाउदा दिनको खेल सकिएपछि खेल बराबरी भएको हो।
बराबरीसँगै अस्ट्रेलियाले पाँच खेलको टेस्ट सिरिजमा १-० को अग्रता लिएको छ। पहिलो टेस्ट अस्ट्रेलियाले २५१ रनले जितेको थियो। सिरिजको तेश्रो टेस्ट २२ अगस्टमा लिड्समा खेलिनेछ।
आइतबारको खेलमा इङ्ल्याण्डले दिएको २६७ रनको लक्ष्य पछ्याउन आएको अस्ट्रेलियाले खराब सुरूवात गर्यो।
उसले ४७ रनभित्र आफ्ना तीन विकेट गुमाएको थियो।
यसक्रममा ओपनर डेविड ५ रनमा फेभेलियन फर्किदा क्यामरून बेक्राफ्ट र उस्मान ख्वाजा १६ र २ रनको स्कोरमा आउट भए।
त्यसपछि मैदानमा आएका मार्नस लाबुशेन र ट्रेविड हेडले क्रमशः ५९ र ४२(नटआउट) रन बनाउँदै चौथो विकेटका लागि ८५ रनको साझेदारी गरेर खेललाई बराबरीतर्फ धकेलेका थिए।
उनीहरूका अलावा म्याथु वेटले १ रन बनाए भने कप्तान टिम पेनले ४ तथा प्याट कमिङ्सले नटआउट १ रनको योगदान दिए।
ईंल्याण्डका लागि ज्याक लिच र जोफरा आर्चरले समान ३-३ विकेट लिए।
त्यसअघि ब्याटिङ गरेको ईंल्याण्डले चार विकेटको नोक्सानीमा बनाएको ९६ रनबाट खेल्न सुरू गरेको थियो।
बेन स्टोक्सले १६ तथा जोस बटलरले १० रन बनाउँदै आफ्नो पारीलाई अगाडि बढाएका थिए।
स्टोक्सले बटलरसँग पाँचौ विकेटका लागि ९० र जोनी बेयरस्टोसँग छैटौं विकेटका लागि ९७ रनको अविजित साझेदारी गरेका थिए। यसक्रममा स्टोक्सले आफ्नो करियरको सातौं शतक बनाए।
स्टोक्सले १६५ बलमा ११ चौका तथा ३ छक्का लगाए।
बेयरस्टोले ३७ बलमा १ चौका तथा २ छक्का लगाए। बटलरले १०८ बलमा ३ चौका जोडे।
अस्ट्रेलियाका लागि प्याट कमिङ्सले ३ तथा पिटर सिडलले २ विकेट लिए।