वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा भारतले कीर्तिमानी जित हात पारेको छ।
नर्थ साउन्डमा भएको पहिलो टेस्टमा भारतले वेस्ट इन्डिजलाई ३१८ रनले पराजित गर्दै अवे खेलमा रनको आधारमा अहिलेसम्मकै ठूलो जित हात पारेको हो।
भारतले दिएको ४१९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज दोस्रो इनिङमा १०० रनमा नै अलआउट भयो। वेस्ट इन्डिजका लागि दोस्रो इनिङमा केमार रोचले सबैभन्दा बढी ३८ रन जोड्दा ८ ब्याट्सम्यान दोहोरो अंकमा रन बटुल्न नपाइ आउट भए।
दोस्रो इनिङमा भारतका लागि जसप्रित बुमराले ५ विकेट लिए भने इशान्त शर्माले ३ र मोहमद सामीले २ विकेट लिए।
त्यसअघि दोस्रो इनिङमा भारतका लागि अजिन्का राहाणेले १०२ रन र हनुमा विराहीले ९३ रन जोडेपछि उसले ७ विकेटको क्षतिमा ३४३ रन बनाएर इनिङ समाप्तीको घोषणा गरेको थियो।
पहिलो इनिङमा भारत २९७ रन र वेस्ट इन्डिज २२२ रनमा अलआउट भएका थिए। भारतका लागि पहिलो इनिङमा ८१ रन र दोस्रो इनिङमा शतक हिर्काएका राहाणे म्यान अफ दि म्याच भए।