न्युजिल्याण्डले श्रीलंका विरूद्धको दोश्रो टेस्टमा ऐतिहासिक जीत दर्ता गरेको छ।
वर्षातले प्रभावित खेलमा सोमबार उसले श्रीलंकालाई पारी र ६५ रनले पराजित गरेको हो। वर्षाका कारण बराबरीमा पुग्न लागेको खेलमा न्युजिल्याण्डले अन्तिम दिन उत्कृष्ट बलिङ गर्यो।
उसले श्रीलंकालाई मात्र १२२ रनमा आउट गर्यो।
सिरिजको पहिलो खेल श्रीलंकाले जितेको थियो। यसरी दुई टेस्टको सिरिज १-१ को बराबरीमा सकियो।
चौथो दिनको खेल सकिदां न्युजिल्याण्डले आफ्नो पहिलो पारी पाँच विकेटको नोक्सानीमा ३८२ रन बनाएको थियो। त्यसअघि श्रीलंकाले पहिलो पारीमा २४४ रन बनाएको थियो।
पाँचौ दिन न्युजिल्याण्डले ६ विकेटमा ४३१ रन बनाएर पारीको घोषणा गर्यो। यसबाट उसले श्रीलंकामाथि १८७ रनको बढत लियो। जवाफी ब्याटिङमा आएको श्रीलंका न्युजिल्याण्डको यस बढतसमक्ष टिक्न सकेन, पूरै टोली ७०.२ ओभरको खेल्दा १२२ रनमै आउट भयो।
यो न्युजिल्याण्डको श्रीलंकाविरूद्ध टेस्ट इतिहासमा सर्वाधिक ठूलो जित हो। यसअघि पनि न्युजिल्याण्डको जितमा यति नै अन्तरको जित उसले हासिल गरेको थियो। उसले श्रीलंकालाई यो अन्तरले सन् १९८४ मा कोलम्बोमा नै हराएको थियो।
दोश्रो पारीमा श्रीलंकाको लागि विकेटकिपर-ब्याटस्म्यान निरोशन डिकवेलाले सर्वाधिक ५१ रन बनाए। कप्तान करूणारत्नेले २१ रन बनाए। यी दुईका अलावा श्रीलंकाका अन्य कुनै पनि ब्याटस्म्यानले २० रन कटाउन सकेनन्।
न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्ट, टिम साउदी, एजाज पटेल र विलिम समरविले समान २-२ विकेट लिए।
समग्र खेलमा न्युजिल्याण्डका ओपनर टाम लाथमले १५४, बिजे बोटलिङले १०५ र कलिन डि ग्र्यान्डहोमले ८३ रन बनाए। टिम साउदीले १० बलमा २४ रन जोडे भने रोस टेलरले २३ रन बनाए। यस्तै कप्तान केन विलियम्सनले २० रन हाने। श्रीलंकाको लागि पहिलो पारीमा धनञ्जय डि सिल्वाले १०९ रन बनाएका थिए।
न्युजिल्याण्डले यस जितसँगै आईसिसी वर्ल्ड च्याम्पियनसिपमा सिधैं ६० अंकबाट आफ्नो खाता खोलेको छ। सोमबार बिहान शुन्य अंकसहित पाँचौं स्थानमा रहेको न्युजिल्याण्ड अब समान अंकसहित भारत र श्रीलंकासँग पहिलो स्थानमा रहेको छ।
यस्तै ३२ अंकसहित अस्ट्रेलिया चौथो स्थान रहँदा समान अंक भएको इङ्ल्याण्ड पाँचौ स्थानमा छ भने वेस्ट इण्डिज शून्य अंकसहित छैटौं स्थानमा रहेको छ।
पाकिस्तान, बंगलादेश तथा दक्षिण अफ्रिकाले च्याम्पियनसिपको पहिलो खेल खेल्न बाँकी नै छ।