नेपाल क्रिकेट संघ (क्यान) को पाँच वटा प्रदेशीक संघको निर्वाचन सकिएको छ। शनिबार प्रदेश २ को प्रदेशीक संघमा धनुषाका हरि भगतको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएसँगै क्यानको प्रदेशिक निर्वाचन अन्तिम चरणमा पुगेको हो।
प्रदेश २ को अध्यक्षमा भगत निर्वाचित हुँदा उपाध्यक्षमा सुनील कुमार महासेठ, सचिवमा आयुश श्रेष्ठ, कोषाध्यक्षमा पवनकुमार गुप्ता चयन भएका छन्। सदस्यमा सतिशकुमार सिंह, डा. हरिशंकरप्रसाद साह, निरज खत्री, आकाश पाण्डे, सुभाव जयसवाल, रोशनकुमार सिंह र मर्तुजा हवारी निर्वाचित भएका छन्।
यसअघि प्रदेश ५ र ६ को अध्यक्षमा दुर्गाबहादुर थापामगर चयन भएका थिए। क्रिकेट संघसँग आबद्ध हाल एउटै मात्र जिल्ला रहेकाले यो निर्वाचन प्रक्रियाका लागि मात्र प्रदेश ६ लाई पनि प्रदेश ५ कै निर्वाचनमा सहभागी गराइएको थियो। प्रदेश ६ अन्तर्गत सुर्खेत जिल्लामा मात्र संघ रहेको छ ।
यस्तै प्रदेश १ मा मिङ्माडन्डु शेर्पा, सुदूरपश्चिममा हरि रेग्मी र गण्डकी प्रदेशमा देवेन्द्र प्रजू अध्यक्षमा निर्वाचित भएका थिए।
अब प्रदेश ३ को निर्वाचन हुन बाँकी छ। प्रदेश ३ को निर्वाचन आगामी भदौ २१ का लागि तोकिएको छ।
त्यसपछि केन्द्रिय समितिका लागि निर्वाचन हुनेछ। केन्द्रिय समितिका लागि आइसिसीले गठन गरेको स्वतन्त्र समितिले दुई वटा मिति प्रस्ताव गरेको छ।
समितिले भदौ २८ र २९ वा असोज ४ र ५ मा निर्वाचन गराउन आइसिसीसँग प्रस्ताव गरेको थियो। जसमा असोज पहिलो साता निर्वाचन हुने प्रवल सम्भावना छ।
१७ सदस्यीय केन्द्रिय समितिका लागि तीन पक्षले तयारी गरिरहेका छन्। जसमा निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्द समूह, क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे र प्रदेश १ को अध्यक्षमा निर्वाचित भएका मिङ्ग्मा डण्डु शेर्पा समूहले नेतृत्वका लागि गृहकार्य गरिरहेका छन्।
क्यानको केन्द्रिय समितिको निर्वाचनपछि आइसिसीले निलम्बन फुकुवा गर्ने विश्वास गरिएको छ।
आइसिसीको बोर्ड बैठक आगामी अक्टोबर १३ मा बस्दैछ। सो बैठकमा क्यानमाथिको निलम्बन फुकुवाको प्रस्ताव पेश हुने विश्वास गरिएको छ। निलम्बन फुकुवाको प्रस्ताव पेश गर्न क्यानको निर्वाचित केन्द्रीय समितिले आइसिसीलाई अनुरोध गर्नु पर्नेछ।