वेस्ट बंगालको एक अदालतले भारतीय क्रिकेटर मोहमद सामीको नाममा पक्राउ पुर्जी जारी गरेको छ।
तीव्र गतिका बलर सामीलाई घरेलु हिंसाको मुद्दामा पक्राउ पुर्जी जारी गरिएको हो। उनकी श्रीमती हसिन जहानले घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन्।
बुधबार आफ्नो २९ औं जन्मदिन मनाउन लागेका सामीलाई १५ दिनभित्र अदालतमा आत्मसमर्पण गर्न भनिएको छ। हाल वेस्ट इन्डिज भ्रमणमा रहेका उनलाई स्वदेश फर्किएपछि आत्मसमर्पण गर्न भनिएको हो।
उनकी श्रीमती जहानले गत मार्चमा सामीले हत्या गर्न खोजेको र घरेलु हिंसा गरेको भन्दै मुद्दा दायर गरेकी थिइन्।
यता सामीका वकिल सलिम रहमानले अदालतको अभियोगमा हत्या गर्न खोजेको कुरा उल्लेख नभएको बताएका छन्। वकिलले सामीकी श्रीमतीको अभियोग भनेजस्तो गम्भीर नभएको दाबी गरेका छन्।
तर जहानकी वकिल अरिवा गुहा ठाकुर्ताले भने सामी देशबाहिर रहेकाले अदालतमा आत्मसमर्पण गर्न १५ दिनको समय दिइएको बताएको इन्डियन एक्प्रेसले लेखेको छ।
यो मामलाले सामीको खेल करिअरलाई तत्काल असर नगर्ने विश्वास गरिएको छ। किनकी भारतीय क्रिकेट कन्ट्रोल बोर्डले मुद्दालाई घरायसी मामलाको रुपमा बुझेको र अदालतको अन्तिम फैसालालाई कुर्ने देखिएको छ।