यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले पाकिस्तानलाई ८५ रनले पराजित गरेको छ।
श्रीलंकामा बिहीबार सुरु भएको प्रतियोगिताको समूह 'ए' को खेलमा अफगानिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित ४६ ओभरमा ९ विकेटको क्षतिमा १६२ रन जोडेको थियो।
जवाफी ब्याटिङ गरेको पाकिस्तान १९.४ ओभरमा ७८ रनमा अलआउट भयो। पाकिस्तानका लागि इरफान खानले १९ रन जोड्दा कप्तान रोहिल नाजिरले १६ रन बटुले। अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा अफगानिस्तानका सफिकुल्लाह घफारीले ३ विकेट लिए। फजल हक, अबिदुल्लाह तनिवाल र नूर अहमेदले २–२ विकेट हात पारे।
त्यसअघि अफगानिस्तानका लागि सेडिकुल्लाह अतलले २९ रन र रमनुल्लाहले २७ रन जोडेका थिए। बलिङमा पाकिस्तानका अमिर अली र फहाद मुनिरले ३–३ विकेट लिए।
समूह 'ए' को अर्को खेलमा भारतले कुवेतलाई ७ विकेटले पराजित गरेको छ। वर्षाले प्रभावित खेलको निर्धारित २३ ओभरमा कुवेतले ११० रन जोड्यो। भारतले १९.३ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो। उसका लागि अर्जुन अजादले नटआउट ६० रन बटुले।
प्रतियोगिताको समूह 'बी' मा रहेको नेपालले शुक्रबार आयोजक श्रीलंकासँग खेल्नेछ।