इन्डोनेसियाको लिग–१ को साविक विजेता पेर्सिजा जाकर्ताले सिजनको तेस्रो जित हात पार्दा नेपालका मिडफिल्डर रोहित चन्दले गोल गरेका छन्।
पेर्सिजाले आइतबार भएको आफ्नो १६औं खेलमा पिएसआइएस सेमाराङलाई २-१ ले हरायो। पेर्सिजाका लागि मार्को सिमिकले पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टीमार्फत पहिलो गोल गरे।
रोहितले ५३ मिनेटमा पेर्सिजाको अग्रता दोब्बर पारे।
सेमाराङका लागि डेभिड मौलानाले ६३ मिनेटमा गोल फर्काएका थिए।
जारी सिजनमा खराब खेलिरहेको पेर्सिजाले १६ खेलमा ३ खेलमा जित हात पारेको छ भने ८ खेलमा बराबरीमा रोकिएको छ। ५ खेलमा पराजित पेर्सिजा १७ अंक जोड्दै १५औं स्थानमा छ।
शीर्ष स्थानको बाली युनाइटेडको १७ खेलबाट ४१ अंक छ।
यसअघि पेर्सिजाले दोस्रो जित हात पार्दा रोहित म्यान अफ दि म्याच भएका थिए। त्यतिबेलमा पेर्सिजाले एघारौं खेलमा कालटेङ पुर्तालाई ३–० गोलले हराएको थियो।
रोहित विगत ३ सिजनदेखि पेर्सिजाबाट खेलिरहेका छन्। नेपाली राष्ट्रिय टिमका सिनियर खेलाडी रोहित गत सिजन इन्डोनेसियन लिगकै उत्कृष्ट खेलाडी घोषित भएका थिए।