नेपाली राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सल्ट्यान्टमा भारतका भिरुती वेंकटराम नियुक्त भएका छन्। सिंगापुर र ओमान भ्रमणका लागि वेंकटराम बलिङ प्रशिक्षक नियुक्त भएको नेपाली टिमका मिडिया म्यानेजर सुरज शाक्यले जनाएका छन्।
नेपाली टिमले यसअघि ब्याटिङ कोच राख्ने गरेको थियो। सुरुमा ब्याटिङ कन्सल्ट्यान्टमा काम गरेका उमेश पटवाल प्रमुख प्रशिक्षक बनेसँगै नेपालले बलिङ कन्सल्ट्यान्ट नियुक्त गरेको हो।
६३ वर्षीय वेंकटराम भारतका पूर्व पहिलो श्रेणीका क्रिकेटर हुने। उनले बिहार क्रिकेट टिमका लागि सन् १९७३ देखि १९९२ सम्म खेलेका थिए। त्यसक्रममा उनले ६८ पहिलो श्रेणीको क्रिकेटमा २१७ विकेट र १२८२ रन बनाएका थिए।
बिहार टिमको कप्तान समेत बनेका उनले १३ पटक ५ विकेट लिएका थिए।
संन्यासपछि उनी झारखण्ड क्रिकेट टिमको प्रमुख प्रशिक्षक बनेका थिए।
उनी सन् २००८ मा राष्ट्रिय क्रिकेट एकेडेमीको स्पिनर बलिङ प्रशिक्षकमा नियुक्त भएका थिए।
सिंगापुर र ओमान भ्रमणका लागि नेपालले बिहीबार राष्ट्रिय टिम घोषणा गर्दैछ। त्यहि कार्यक्रममा बलिङ कन्सल्ट्यान्टमाको बारेमा जानकारी गराइनेछ।
असोज दोस्रो साता सिंगापुरमा हुने त्रिकोणीय अन्तर्राष्ट्रिय टी-२० सिरिजमा नेपाल, जिम्बावे र आयोजक सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिता सिंगापुरले टी-२० विश्वकप छनोटको तयारीका लागि आयोजना गर्न लागेको हो।
नेपाल र जिम्बावे छनोटबाट बञ्चित भए पनि सिंगापुर भने विश्वकप छनोट खेल्दैछ।
नेपाल सिंगापुरमा प्रतिस्पर्धा गरेपछि उतैबाट ओमान जानेछ।
ओमान हुने प्रतियोगितामा आयोजक ओमान, नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगिता आइसिसी टी-२० विश्वकप छनोटको पूर्वसन्ध्यामा आयोजना गर्न लागिएको हो।
विश्व छनोट प्रतियोगिता अक्टोबर ११ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ।
नेपाल भने गत महिना सिंगापुरमा भएको एसिया छनोटमै रोकिएको थियो। विश्व वरीयताको ११ औं स्थानमा रहेको नेपाललाई पछि पारेर सिंगापुरले एसियाबाट विश्व छनोटमा स्थान पक्का गरेको थियो।
सिंगापुरमा नेपालको खेल तालिका
असोज १० गते नेपाल भर्सेस जिम्बावे
असोज ११ नेपाल भर्सेस सिंगापुर
असोज १४ गते नेपाल भर्सेस जिम्बावे
असोज १५ गते नेपाल भर्सेस सिंगापुर
ओमानमा हुने प्रतियोगितामा नेपालको खेल तालिका
असोज १९ गते नेपाल भर्सेस हङकङ
असोज २० गते नेपाल भर्सेस नेदरल्यान्ड्स
असोज २२ गते नेपाल भर्सेस आयरल्यान्ड
असोज २३ गते नेपाल भर्सेस ओमान