टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले इतिहासकै दोस्रो खराब ब्याटिङ गरेको छ। ओमानमा भइरहेको पाँच देशको टी-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले खराब प्रदर्शन गरेको हो।
घरेलु टिम ओमानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ११ ओभरमा ६४ रनमै अलआउट भयो। यो स्कोर नेपालको टी–२० अन्तर्राष्ट्रियमा दोस्रो कम स्कोर हो।
नेपालको सबैभन्दा कम स्कोर भने ५३ रन हो। सन् २०१५ मा नेपाल आयरल्यान्डसँग झिनो योगफलमा समेटिएको थियो।
त्यतिबेला नेपाल १४.३ ओभरमा अलआउट भएको थियो। यसपटक ११ ओभरमा अलआउट भएर नेपालले अर्को खराब इतिहास बनायो।
बिहीबार ओमानविरुद्ध नेपालका २ ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन जोड्न सके। तेस्रो नम्बरमा ब्याटिङ गरेका आरिफ शेखले २० रन र दीपेन्द्रसिंह ऐरीले ११ रन जोडे।
आरिफले १३ बलमा २० रन र दीपेन्द्रले ६ बलमा ११ रन जोडे।
त्यसअघि ओपनर इशान पाण्डे २ रन र कप्तान पारस खड्का ५ रनमा आउट भएका थिए।
विनोद भण्डारी ४ रन, सन्दीप जोरा ०, सोमपाल कामी ८ रन, करण केसी ८ रन, सन्दीप लामिछाने २ रन र अभिनास बोहरा २ रनमा आउट भए।
बलिङमा ओमानका अमिर खलिमले ५ विकेट लिए। विलाल खानले २ विकेट लिए भने मोहमद नदीम र खावर अलीले १–१ विकेट हात पारे।
सिरिजको सुरुवाती २ खेलमा जित हात पारेको नेपाल अघिल्लो खेलमा आयरल्यान्डसँग हारेको थियो। ओमानलाई फराकिलो अन्तरले हराए मात्र नेपालले सिरिज जित्ने सम्भावना हुनेछ।