वुमेन्स च्याम्पियन्स लिग (डब्लूसिएल) टी-२० क्रिकेट च्याम्पियनसिपमा चितवन राइनोजल विजयी सुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा बुधबार भएको उद्घाटन खेलमा चितवनले क्याट क्विन्स काठमाडौंलाई ५ विकेटले पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं २० ओभरमा ९२ रनमा अलआउट भयो। उसका लागि रस्मी चौलागाइँले २५ बलमा ७ चौका हिर्काउँदै ३४ रन जोडिन्। सरस्वती कुमारीले १५ रन जोड्दा अन्य खेलाडी दोहोरो अंक जोड्न नपाउँदै आउट भए।
बलिङमा चितवनकी सन्तोषी चौधरीले ३ विकेट लिइन्। रेखा रावल र कविता गौतमले २-२ विकेट लिए।
९३ रनको लक्ष्य चितवनले ९ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पूरा गर्यो। चितवनका लागि सुमन खतिवडाले २३ बलमा २९ रन र प्यारी चौधरीले २७ बलमा २४ रनको योगदान दिए। बलिङमा काठमाडौंकी इश्वरी विष्टले २ विकेट लिइन्।
प्रतियोगिताअन्तर्गत बिहीबार काठमाडौं र पोखरा पल्टन तथा ललितपुर फाल्कोन्स र विराटनगर टाइटन्सबीच खेल हुनेछ।