नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेगस्पिनर सन्दीप लामिछानेले यस सिजनको टी–१० लिग कर्नाटका टर्स्कर्सबाट खेल्ने भएका छन्।
बुधबार राति अबुधावीमा भएको ड्राफ्टमा सन्दीपलाई कर्नाटकाले पहिलो चरणमै आफ्नो टिममा आबद्ध गरेको हो।
सन्दीपले गत सिजनको टी–१० लिग केरला किङ्सबाट खेलेका थिए।
गत वर्ष भन्दा सन्दीपको पारिश्रमिक १० हजार डलर बढेको छ। गत सिजन केरलामा ३० हजार अमेरिकी डलरमा आबद्ध भएका उनी यस सिजन कर्नाटकामा ४० हजार डलरमा आबद्ध भएको सन्दीपका सहयोगी रमन सिवाकोटीले सेतोपाटीलाई जानकारी दिए।
सन्दीपको टिम कर्नाटकामा दक्षिण अफ्रिकाका ब्याट्सम्यान हसिम अमला आइकोनीक खेलाडीको रुपमा आबद्ध छन्।
यस्तै वेस्ट इन्डिजका इभिन लेविस, जोनसन चार्ल्स, फाबियन एलन र मार्लोन स्यामुयल्स पनि कर्नाटकामा आबद्ध भएका छन्। अफगानिस्तानका साइपुर जार्डान र युएईका सिकन्दर राजा पनि सन्दीपको टिममा छन्।
प्रतियोगिता अबुधावीको शेख जायद क्रिकेट रंगशालामा आगामी नोभेम्बर १५ देखि २४ सम्म हुनेछ। १० ओभरको हुने खेल ९० मिनेट भित्रमा सकिनेछ।
सन्दीपको कर्नाटकासँगै टिम अबुधावी, मारथा अरबीयन्स, बेंग्ला टाइगर्स, डेकन ग्लाडिएटर्स, क्वालन्दर्स, दिल्ली बुल्स र नर्दन वारियर्सले प्रतिस्पर्धा गर्नेछन्।