युएईका कप्तानसहित ३ खेलाडी निलम्बन परेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले भ्रष्टाचारविरोधी संहिता बिपरित काम गरेको भन्दै निलम्बन गरेको हो।
आइसिसीले युएईका कप्तान मोहमद नाबीद, तीव्र गतिका बलर क्वादर अहमेद र ब्याट्सम्यान शैमान अनवारलाई भ्रष्टाचार अभियोगमा निलम्बन गरेको हो।
अलराउन्डर नाबीदलाई खेलका दौरान 'फिक्स र नियन्त्रण' गरेको आरोप लाइएको छ। नाबीदले अरुलाई प्रभावमा पार्न खोजेको आइसिसीको आरोप छ। यस्तै अहमेदलाई भित्री जानकारी दिएको अभियोग छ।
यस्तै अनुसन्धानमा सहयोग नगरेको पनि उनीहरुमाथि अभियोग छ। यस्तैगरी शैमानले खेलमा अनुचित रुपमा प्रभाव पार्न खोजेको आइसिसीको आरोप छ।
आइसिसीले नाबीदलाई दर्जन, अहमेदलाई ६ र शैमानलाई २ वटा अभियोग लगाएको छ।
उनीहरुलाई ३० अक्टोबरभित्र अपिल गर्न आइसिसीले निर्देशन दिएको छ।
आइसिसी टी–२० विश्वकप छनोटअघि महत्वपूर्ण तीन खेलाडी निलम्बनमा पर्दा युएईलाई झड्का लागेको छ। युएईले शुक्रबार छनोटमा ओमानसँग खेल्दैछ।