आइसिसी टी–२० विश्वकप छनोटमा सिंगापुरले स्कटल्यान्डमाथि रोमाञ्चक जित हात पारेको छ।
शुक्रबार युएईमा सुरु भएको प्रतियोगितामा सिंगापुरले २ रनको सनसनीपूर्ण जित हात पारेको हो।
सिंगापुरले दिएको १६९ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १९ ओभरमा ६ विकेटको क्षतिमा १६१ रन जोडेको थियो।
अन्तिम ओभरमा जितका लागि ८ रन चाहिएको स्कटल्यान्डले ३ विकेट गुमाउदा ३ रन मात्र जोड्न सक्यो।
अन्तिम ओभरमा सिंगापुरका लागि बलिङ गरेका अम्दाज महबुबले स्कटल्यान्डका म्यालियोर्डलाई तेस्रो बलमा ४४ रनमा आउट गरे।
त्यसपछि २ रन लिएको स्कटल्यान्डलाई जितका लागि २ बलमा ५ रन चाहिएको थियो। तर पाँचौ बलमा स्कटल्यान्डका सइफ क्याच आउट हुँद अन्तिम बलमा इभान्स रनआउट भए। जसकारण स्कटल्यान्डले ९ विकेटको क्षतिमा १६६ रन मात्र जोड्यो।
स्कटल्यान्डका लागि जर्ज मुन्सीले २५ बलमा ४६ रन र कप्तान केल कोइटजरले ३६ बलमा ३८ रन जोडेका थिए।
बलिङमा सिंगापुरका विजयकुमारले ३ विकेट लिए भने सिद्धान्त सिंह र मेहबुबले २–२ विकेट हात पारे।
त्यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले ६ विकेट गुमाएर १६८ रन जोड्यो।
उसका लागि ओपनिङ ब्याट्सम्यान चन्द्रमोहनले ५१ रन र अरित्रा दत्ताले १५ बलमा ३२ रन जोडे।
१४ टिमबीच भइरहेको प्रतियोगिताबाट ६ टिम आगामी वर्ष अस्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन्।
टी–२० वरीयताको १३औं स्थानमा रहेको नेपाल भने दुई महिनाअघि एसिया छनोटमा सिंगापुरसँग पराजित हुँदा छनोट प्रतियोगिताबाट बन्चित भएको थियो।