राइनो स्पोर्टसको व्यवस्थापन एवं भैरहवा क्विन्स प्रालीको आयोजनामा प्रो कर्पोरेट लिग क्रिकेट हुने भएको छ।
यही कात्तिक ३ देखि ९ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको खेल मूलपानी र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिता संयोजक विजय घिमिरेले जानकारी दिएका हुन्।
प्रतियोगिताको लिग चरणको खेलहरु मूलपानी मैदानमा हुनेछ भने सेमिफाइन र फाइनल खेल कीर्तिपुर क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा वल्र्डलिङक, नयाँ पत्रिका, क्रिकेट हिमालयन, एप्पोन र रिलायबल लाइफ इन्सुरेन्स गरी पाँच टोलीले भाग लिनेछन्।
प्रतियोगिताको विजेता टोलीले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्लेयर अफ द सिरिजले ट्रफीसहित ३२ इन्चको एलइडी टिभी, एक वर्षको लागि वल्र्डलिङको नेट टिभी र इन्टरनेट कनेक्सन निःशुल्क प्राप्त गर्ने आयोजकले जनाएको छ।
त्यसैगरी उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट विकेट किपरले ट्रफी र प्रमाणपत्रसहित ६ महिनाको लागि वल्र्डलिङको निशुल्क इन्टरनेट कनेक्सन प्राप्त गर्नेछन्।
उक्त प्रतियोगिताको फाइनल खेल अवलोकन गर्न आउने समर्थकबाट उठाइएको रकम धुर्मस सुन्तली फाउन्डेशनमार्फत चितवनमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निमार्णको लागि दिइने आयोजकले जनाएको छ।
(रासस)