वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी-२० क्रिकेट प्रतियोगितामा क्याट क्विन्स काठमाडौं दोस्रो चरणमा पुगेको छ।
काठमाडौंले आइतबार भएको खेलमा ललितपुर फाल्कोन्सलाई ८ विकेटले पराजित गर्दै प्लेअफमा स्थान बनाएको हो।
समूह चरणको सबै खेल खेलेको काठमाडौंले ६ अंक जोडेको छ। चितवन राइनोज भने लगातार तीन जित निकालेर यसअघि नै अन्तिम चारमा पुगिसकेको छ। यस्तै विराटनगर टाइन्टस पनि दुई जितसहित प्लेअफमा पुगेको थियो।
लगातार तीन खेलमा पराजित भएका पोखरा पल्टन र ललितपुर भने समूह चरणबाट बाहिरिएका छन्।
आइतबार टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेटको क्षतिमा १०५ रन जोड्यो। ललितपुरका लागि नेरी थापाले २२ रन र रोशनी बोहरीले २९ रनको योगदान दिए।
बलिङमा काठमाडौंकी इश्वरी विष्टले २ विकेट लिए।
१०६ रनको लक्ष्य काठमाडौंले १७.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। काठमाडौंका लागि कप्तान रुबिना क्षेत्रीले नटआउट ५९ रन जोडिन्। उनले ५२ बलमा ९ चौका र १ छक्का हिर्काइन्।