दोस्रो संस्करणको पोखरा प्रिमियर लिग एक महिना पर सरेको छ। आगामी कात्तिक अन्तिम सातादेखि हुने भनिएको लिग मंसिर अन्तिम सातादेखि हुने भएको हो।
यसअघि आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले प्रतियोगिता कात्तिक २६ गतेदेखि मंसिर ७ गतेसम्म (२०१९ नोभेम्बर १२ देखि २३ सम्म) हुने घोषणा गरेको थियो।
अब आगामी मंसिर २८ गतेदेखि (डिसेम्बर १४ देखि २८ सम्म) हुने आयोजकको भनाइ छ।
आयोजकका अनुसार यु–१९ टिमको भारत भ्रमण, इंग्ल्यान्डको एमसिसीको नेपाल भ्रमण र दक्षिण एसियाली खेलुकद (साग) का लागि राष्ट्रिय खेलाडी व्यस्त रहनुपर्ने भएकाले लिग सारिएको हो।
यु–१९ टिम आगामी नोभेम्बर ९ देखि १८ सम्म भारत भ्रमणमा जादैँछ। यो बीचमा एमसीसी नोभेम्बर १ देखि १४ सम्म नेपालमा रहेनछ। त्यसपछि डिसेम्बर १ देखि १० गतेसम्म साग खेलकुद हुँदैछ।
पोखरा प्रिमियर लिग पोखरा क्रिकेट मैदानमा संचालन हुने तय छ।
लिगको दोस्रो संस्करणमा पनि नेपालका ६ सहरका ६ फ्रेञ्चाइज टिमहरुको सहभागिता रहनेछ। जसमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर, चितवन राइनोज, काठमाडौं रोयल्स् र धनगढी ब्लुजको सहभागिता रहनेछ। टिममा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरु तथा विदेशका चर्चित खेलाडी आबद्ध हुनेछन्।
गत वर्ष घरेलु टिम पोखरा पल्टन च्याम्पियन भएको थियो ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागेको अवसरमा पोखरा प्रिमियर लिग सकारात्मक सन्देश दिन माध्यम बन्न सक्ने आयोजकको भनाइ छ।
पोखरा प्रिमियर लिगअघि आयोजक क्विन्स इभेन्टले काठमाडौंमा वुमेन्स च्याम्पियन्स लिग गरिरहेको छ।